जन आकाश
काठमाडौं। सरकारले हालसम्मकै धेरै डाटा ट्रान्सफर गरेर नयाँ प्रणालीबाट ई(पासपोर्ट) जारी गर्न सुरु गरेको र दैनिक १५ सय पासपोर्ट छापिएको दाबी गरे पनि राहदानी विभागमा भने सेवाग्राहीको सास्ती उस्तै रहेको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा घण्टौँ लाइन बसेर पासपोर्ट बनाउनुपर्ने बाध्यता अझै हटेको छैन। घण्टौँसम्म कुर्नुपर्ने, पटक(पटक प्रणाली अवरुद्ध हुने, अनलाइन भुक्तानी स्वीकार नहुने, अपोइन्टमेन्ट छिट्टै बन्द भइहाल्ने तथा राहदानी वितरणमा समेत ढिलाइ हुने समस्या सेवाग्राहीहरूले भोगिरहेका छन्।
एक सेवाग्राहीले आफ्नो आक्रोश पोख्दै, ‘आफूले खोजेको मितिमा अपोइन्टमेन्ट पनि पाइँदैन,’ भने, ‘३ घण्टा भयो म लाइनमा बसेको, अहिले ११ बजिसक्यो तर पनि मेरो पालो आएको छैन।’ दुई(तीन दिन लाइन कुर्दै बित्ने गरेको र आज पनि काम हुन्छ कि हुँदैन भन्ने निश्चित नभएको उनले बताएका छन्।
सन् २०१८ देखि फ्रान्सेली कम्पनी आइडिमियाले सञ्चालन गर्दै आएको पासपोर्ट छपाइ तथा व्यवस्थापनको जिम्मेवारी अहिले सरकारले जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसलाई हस्तान्तरण गरेको छ। कम्पनी परिवर्तन गर्दा सरकारले पहिलेको प्रणालीभन्दा अझ आधुनिक, गुणस्तरीय, छिटो र सर्वसुलभ सेवा दिने लक्ष्यसहित पुरानो ठेक्का अन्त्य गरेर नयाँ ई(पासपोर्ट प्रणाली लागू गरेको दाबी गरेको थियो। तर व्यवहारमा भने अपेक्षा अनुसार काम हुन सकेको छैन।
अर्का एक सेवाग्राहीले, ‘विदेश जान्छु, आफ्नै पैसाले पासपोर्ट बनाउँछु भन्दा पनि बनाउन पाइएको छैन,’ भन्दै, ‘मैले बाह्र दिनमा बल्ल(बल्ल डेट पाएँ, यहाँ आउने लाइन बस्ने अनि फेरि फर्किने गरेर बल्ल(बल्ल पाएको हुँ।’ कहिले यता त कहिले उता पठाइने गरेकाले सेवाग्राहीले सास्ती भोग्नुपरेको उनले बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend