जन आकाश
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको नेपाल आयल निगमको दाबी रहे पनि उपभोक्ताहरू भने खाली सिलिन्डर बोकेर डिलर र ग्यास उद्योगअगाडि लामो लाइन बस्न बाध्य भएका छन्।
निगमले ३१ असारदेखि सबै ग्यास उद्योगलाई १४.२ किलो तौलको पूर्ण भरिएको सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिएपछि बजारमा आपूर्ति प्रणाली प्रभावित भएको व्यवसायीहरू बताउँछन्। यसअघि ग्यास अभाव चर्किएपछि निगमले केही समयका लागि ७.१ किलो ग्यास भरिएका आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको थियो।
निगमका अनुसार भारतबाट ग्यास पूर्ण क्षमतामा आयात भइरहेको छ र बजारमा आपूर्तिमा कुनै समस्या छैन। तर, काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका धेरै जिल्लामा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। अधिकांश डिलरमा ग्यास सकिएको भन्दै उपभोक्तालाई रित्तो हात फर्काइने गरेको गुनासो छ।
डिलरबाट ग्यास नपाएपछि उपभोक्ताहरू सिधै ग्यास उद्योग र वितरण केन्द्र पुग्न थालेका छन्। बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योग तथा टेकुस्थित निगमको वितरण केन्द्रमा समेत सयौं उपभोक्ता खाली सिलिन्डर लिएर लामो लाइनमा बसेका छन्। तर, त्यहाँबाट पनि सबैले ग्यास पाउन नसकेको गुनासो गरेका छन्।
उपभोक्ताहरूले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको आशंका व्यक्त गर्दै सम्बन्धित निकायबाट तत्काल अनुगमन र प्रभावकारी वितरण व्यवस्थापन गर्न माग गरेका छन्। यता, नेपाल आयल निगमले भने हल्लाका आधारमा आत्तिन नआग्रह गर्दै बजारमा ग्यासको अभाव नरहेको र आपूर्ति नियमित भइरहेको दाबी दोहोर्याएको छ।
यद्यपि, काठमाडौंसहित देशका विभिन्न स्थानमा देखिएको लामो लाइन र ग्यास नपाएको उपभोक्ताको गुनासोले आपूर्ति प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend