जन आकाश
काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी शेखर खनालले उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर–७ गोश्वारामा रहेको प्रतिष्ठित औद्योगिक घराना देवेनरा समूहका संस्थापक बेनीगोपाल मुन्दडाको घरमा प्रहरीले छापा मारेको थियो। ५ घण्टासम्म प्रहरीले छापा मारेपछि केही नभेटिएको बताउँदै प्रहरी त्यहाँबाट फर्कियो।
अपुष्ट सूचनाको आधारमा छापा मारेको र आतंक सिर्जना गरेको भन्दै निजी क्षेत्रले विरोध जनाइरहँदा डिआइजीले व्यवसायीहरूलाई छलफलमा डाँकेका हुन्।
खनालका अनुसार आफूहरूले निजी क्षेत्रलाई आतंकित बनाउन नखोजिएको बताए। ‘निजी क्षेत्रलाई आतंकित बनाउन खोजेका हैनौं। यही विषयलाई लिएर आज व्यवसायीहरूलाई बोलाएर छलफल गर्दैछौं,’ उनले भने।
मोरङ प्रहरीले ‘विशेष सूचना’ प्राप्त गरेको बताउँदै ठूलो संख्या लिएर उद्योगी मुन्दडाको घरमा छापा मारेको थियो। तर के थियो भन्ने प्रहरी कार्यालयले बताएको छैन।
यसरी आतंकित बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विरोध जनाएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend