logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एलपीजी ग्याँसको अभावपछि डिलरमा अनुगमन तीव्र


  • जन आकाश
  • बिहिबार, साउन २१ २०८३

काठमाडौं । देशभर खाना पकाउने एलपीजी ग्याँसको अभाव देखिन थालेसँगै जनकपुरमा स्थानीय प्रशासन र नेपाल आयल निगमले संयुक्त रूपमा ग्याँस डिलरहरूमा अनुगमनलाई तीव्र बनाएका छन्। महेन्द्रनगरस्थित नेपाल आयल निगम इन्धन डिपोबाट खटिएको पाँच सदस्यीय टोलीले विभिन्न डिलरमा पुगेर मौज्दात ग्याँस, खाली सिलिण्डर तथा वितरण अवस्थाबारे स्थलगत निरीक्षण गरिरहेको छ।



अनुगमन टोलीले रामानन्द चोक, बलवा टोल, थापा चोक, पिडारी चोक, रजौल, सरस्वती टोललगायतका क्षेत्रमा रहेका डिलरहरूको निरीक्षण गरिसकेको छ। निरीक्षणका क्रममा अधिकांश डिलरमा भरी सिलिण्डरको अभाव देखिए पनि केही स्थानमा मौज्दात रहेको पाइएको छ। टोलीले मौज्दात ग्याँस आवश्यकता र प्राथमिकताका आधारमा उपभोक्तालाई वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

यस्तो सक्रिय अनुगमनले कृत्रिम अभाव, कालोबजारी तथा अनावश्यक मौज्दातलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। ग्याँस अभावका बेला बजारको वास्तविक अवस्था बुझ्न र उपलब्ध ग्याँस उपभोक्तासम्म निष्पक्ष रूपमा पुर्‍याउन प्रशासनको प्रत्यक्ष निगरानी प्रभावकारी उपायका रूपमा हेरिएको छ।

यता राजधानी काठमाडौंमा पनि पछिल्ला दिनहरूमा एलपीजी ग्याँसको अभाव बढ्दै गएको गुनासो उपभोक्ताबाट आइरहेको छ। धेरै उपभोक्ताले डिलरमा पटक–पटक धाउँदा पनि ग्याँस नपाएको, कतिपय स्थानमा सीमित परिमाणमा मात्र वितरण भइरहेको तथा आपूर्ति अनियमित बनेको बताएका छन्।

यस्तो अवस्थामा काठमाडौं उपत्यकामा पनि नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायले जनकपुरमा जस्तै संयुक्त अनुगमन अभियान सञ्चालन गर्नु आवश्यक देखिन्छ। डिलरहरूको मौज्दात, वितरण प्रक्रिया र आपूर्ति अवस्थाको नियमित अनुगमन गर्न सके कृत्रिम अभाव सिर्जना गर्ने, ग्याँस लुकाउने वा कालोबजारी गर्ने प्रवृत्तिमा नियन्त्रण आउन सक्छ। साथै उपलब्ध ग्याँस वास्तविक उपभोक्तासम्म पारदर्शी र व्यवस्थित रूपमा पुर्‍याउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend