logo शुक्रबार, साउन २२ २०८३ | Friday 7th August 2026

कैलालीको लम्कीमा बिउ प्रशोधन उद्योग सुरु, मुख्यमन्त्री शाहद्वारा उद्घाटन


  • जन आकाश
  • बिहिबार, साउन २१ २०८३

काठमाडौं । कैलालीको लम्कीमा किसान बहुउद्देश्यीय सहकारी संस्थाले बिउ प्रशोधन तथा भण्डारण उद्योग सञ्चालनमा ल्याएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार लम्कीचुहा नगरपालिका–४ मा नवनिर्मित उद्योग भवनको उद्घाटन गर्दै उद्योग औपचारिक रूपमा सञ्चालनमा ल्याउनुभएको हो।



उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सहकारीमार्फत किसानलाई बिउ उत्पादनमा प्रोत्साहन र सहयोग गर्ने कार्य प्रशंसनीय रहेको बताउनुभयो। उत्पादनपछि गुणस्तरीय बिउको प्रशोधन, भण्डारण र बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगले यस क्षेत्रका कृषकलाई प्रत्यक्ष लाभ पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानले धान, गहुँ, मकै, तोरीलगायत बालीका उन्नत जातका बिउको ग्रेडिङ, प्रशोधन र प्याकेजिङ स्थानीय स्तरमै गर्न पाउने बताउनुभयो।

“किसानलाई सहज र सर्वसुलभ रूपमा गुणस्तरीय बिउ उपलब्ध गराउने तथा किसानका उत्पादन उचित मूल्यमा खरिद गर्ने मुख्य उद्देश्यका साथ उद्योग स्थापना गरिएको हो,” महाप्रबन्धक शाहले बताउनुभयो।

प्रदेश र स्थानीय सरकारको साझेदारीमा १ करोड ४१ लाख लगानी बिउ प्रशोधन उद्योग स्थापनाका लागि किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय सरकार लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारसँग वित्तीय साझेदारी गरेको छ।

उद्योगमा हालसम्म कुल १ करोड ४१ लाख ३० हजार रुपैयाँ लगानी भएको सहकारीले जनाएको छ। भवन निर्माणका लागि लम्कीचुहा नगरपालिकाले २५ लाख रुपैयाँ र मेसिनरी खरिदका लागि सुदूरपश्चिम प्रदेश सरकारले १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ।

१४० बिघामा धानको मूल बिउ उत्पादन सुरु

उद्योग सञ्चालनसँगै बिउ उत्पादनलाई प्रवर्द्धन गर्न सहकारीले किसानलाई आवश्यक स्रोत र साधन उपलब्ध गराएको छ। संस्थाको सहयोगमा ४१ जना कृषक र एक कृषि सहकारी संस्थाले १४० बिघा क्षेत्रफलमा धानको मूल बिउ उत्पादनका लागि खेती सुरु गरिसकेका छन्।

उद्योग सञ्चालनपछि सुदूरपश्चिमका किसानले गुणस्तरीय बिउका लागि अन्य क्षेत्रको भर पर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। साथै स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै कृषि उत्पादन र बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend