logo शुक्रबार, साउन २२ २०८३ | Friday 7th August 2026

माइतीघर आन्दोलन: तीन अभियानीलाई एक लाख धरौटी


  • जन आकाश
  • बिहिबार, साउन २१ २०८३

काठमाडौं । माइतीघर मण्डलमा भएको लघुवित्त ऋणीहरूको आन्दोलनका क्रममा पक्राउ परेका तीन जना जेनजी अभियानीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको छ। धरौटी रकम बुझाउन नसकेपछि उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।



थुनामा पठाइनेमा जेनजी अभियानीहरू अजय सोडारी, प्रकाश बम र सुनिल बिक रहेका छन्। उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा गत साउन १३ गते साँझ माइतीघर मण्डलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले धरौटी बुझाउन नसकेपछि तीनै जनालाई थुनामा पठाइएको पुष्टि गर्नुभयो। उहाँका अनुसार यो नियमित कानुनी प्रक्रिया हो।

“उनीहरूलाई धरौटीमा छाड्ने कुरा थियो। तर धरौटी तिर्न नसकेपछि थुनामा पठाइएको हो,” रिजालले बताउनुभयो। माइतीघरमा आन्दोलनरत लघुवित्त ऋणीहरूलाई उक्साएको आरोपमा पक्राउ परेका उनीहरूलाई हाल सुन्धारा कारागार पठाइएको छ।

यता अभियानी पक्षले भने धरौटी रकम बढी तोकिएको दाबी गरेको छ। जेनजी अभियानी अजय सोडारीको टोलीकी सुप्रिया नेपालीका अनुसार सुरुमा १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने भनिए पनि पछि एक लाख रुपैयाँ तोकिएको जानकारी दिइएको थियो।

“हामी विद्यार्थी हौं, जनही १० हजार रुपैयाँसमेत तिर्न नसक्ने अवस्था रहेको कुरा राखेका थियौं। पछि एक्कासि एक लाख धरौटी तोकिएको जानकारी आयो,” नेपालीले बताउनुभयो।

उनले धरौटी तोकिएपछि प्रमुख जिल्ला अधिकारीसँग भेट गर्न खोज्दा कार्यालय बन्द भइसकेको भन्दै प्रवेश नदिइएको बताइन्। अभियानी पक्षले घटनालाई प्रतिशोधका रूपमा लिएको आरोप लगाएको छ भने प्रशासनले भने कानुनी प्रक्रियाअनुसार कारबाही भएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend