जन आकाश
काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिन गृहमन्त्री सुधन गुरुङले अस्वीकार गर्नुभएको छ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान कहाँ पुगेको छ र दोषी कहिले पक्राउ पर्छन् भन्दै गृहमन्त्री गुरुङसँग प्रश्न गर्नुभएको थियो।
जवाफमा गृहमन्त्री गुरुङले यो विषय निकै संवेदनशील भएकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताउनुभयो। उहाँले अनुसन्धान सूक्ष्म रूपमा भइरहेको भन्दै विस्तृत जानकारी दिन अस्वीकार गर्नुभयो।
“यो विषय एकदमै सेन्सेटिभ छ। धेरै कुरा बोल्न सक्दिनँ, बोल्नु हुँदैन। सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ,” गृहमन्त्री गुरुङले भन्नुभयो।
उहाँले निर्मला प्रकरणलाई संसद्मा पटक–पटक उठाउँदा पीडित परिवारको पीडामाथि असर पर्न सक्ने तर्क गर्दै यो विषय सदनमा धेरै कोट्याउन नहुने बताउनुभयो। साथै, आवश्यक जानकारी भए व्यक्तिगत रूपमा लिन आग्रह गर्नुभयो।
गृहमन्त्रीको जवाफपछि सांसद विश्वकर्माले पुनः प्रश्न गर्दै निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन् भनेर सोध्नुभएको थियो। उहाँले प्रश्न गर्नु आफ्नो विधायिकी अधिकार भएको बताउनुभयो।
त्यसपछि सभामुखले गृहमन्त्री गुरुङलाई जवाफ दिन समय दिए पनि उहाँले छोटो प्रतिक्रिया दिँदै भन्नुभयो– “म यसको उत्तर दिन चाहन्नँ।”
निर्मला पन्त हत्या प्रकरण २०७५ सालमा कञ्चनपुरमा भएको थियो। लामो समय बितिसक्दा पनि दोषी पहिचान हुन नसकेको भन्दै यो विषय पटक–पटक संसद् र सार्वजनिक बहसमा उठ्दै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend