logo शुक्रबार, साउन २२ २०८३ | Friday 7th August 2026

जाजरकोटका स्थानीय तह र प्रहरीलाई २१ लाखभन्दा बढीका उद्धार सामग्री


  • जन आकाश
  • शुक्रबार, साउन २२ २०८३

काठमाडौं । पाँचतारा युवा संरक्षक मञ्चले जाजरकोट जिल्लाका विभिन्न स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालयलाई करिब २१ लाख ३९ हजार रुपैयाँ बराबरका विपद् उद्धार तथा राहत सामग्री हस्तान्तरण गरेको छ ।



संस्थाका अनुसार कुल २१ लाख ३९ हजार १४१ रुपैयाँ बराबरका विपद् जोखिम न्यूनीकरण तथा उद्धार सामग्री विभिन्न निकायलाई उपलब्ध गराइएको हो। सामग्रीमा हेल्मेट, बाल्टी, बेल्चा, स्ट्रेचर, प्राथमिक उपचार बक्स, माइक लगायतका खोज तथा उद्धारमा प्रयोग हुने सामग्री रहेका छन्।

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तका अनुसार सामग्री विभिन्न साझेदार संस्थाको सहयोगमा खरिद गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको हो।

वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई २ लाख २३ हजार, भेरी नगरपालिकालाई ५ लाख ९७ हजार र नलगाड नगरपालिकालाई ३ लाख ७५ हजार बराबरका उद्धार सामग्री उपलब्ध गराइएको छ।

त्यस्तै, आई पासको सहयोगमा छेडागाड नगरपालिकालाई एक लाख ७८ हजार, शिवालय गाउँपालिकालाई १ लाख ९५ हजार, भेरी नगरपालिकालाई १ लाख ७५ हजार, नलगाड नगरपालिकालाई १ लाख ९८ हजार र कुशे गाउँपालिकालाई एक लाख ९७ हजार बराबरका विपद् उद्धार सामग्री उपलब्ध गराइएको अध्यक्ष पन्तले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई हस्तान्तरण गरिएका सामग्री विशेषगरी खोज, उद्धार तथा आपत्कालीन अवस्थामा सुरक्षा निकाय र सरोकारवाला निकायहरुले प्रयोग गर्ने बताइएको छ ।

जाजरकोट प्राकृतिक विपद्को उच्च जोखिममा रहेको जिल्ला भएकाले वर्षायाममा बाढी, पहिरो लगायतका विपद् हुने सम्भावना बढी रहने गर्दछ। यस्तो अवस्थामा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सामग्री उपलब्ध गराइएको वल्र्ड भिजन जाजरकोटका जिल्ला संयोजक नन्द बुढाले बताए ।

यस सहयोगले जिल्लाको विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी नन्द अधिकारीले बताए ।

उनले विपद् जोखिम न्यूनीकरणका लागि सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा गैरसरकारी संस्थाबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

उपलब्ध गराइएका सामग्रीले विपद्का समयमा तत्काल खोज तथा उद्धार गर्न सहज हुनुका साथै स्थानीय तह र सुरक्षा निकायको आपत्कालीन तयारी क्षमता बढाउने अपेक्षा गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend