जन आकाश
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले लामो संघर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ।आदिवासी जनजाति महासंघद्वारा आयोजित ३२औँ विश्व आदिवासी दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अधिकार प्राप्त गर्नु मात्रै पर्याप्त नभएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन, संरक्षण र संस्थागत विकासमा जोड दिनुभएको हो
विश्व आदिवासी दिवस केवल उत्सव मनाउने अवसर मात्र नभई आदिवासी जनजातिको इतिहास, संघर्ष र उपलब्धिको समीक्षा गर्दै आगामी पुस्ताको भविष्य सुनिश्चित गर्ने संकल्प गर्ने दिन भएको उहाँको भनाइ छ।
आफ्नो भाषा, संस्कृति, सम्पदा, पहिचान, परम्परा, सीप र आत्मसम्मानको संरक्षणका लागि पुस्तौँदेखि आवाज उठाउँदै आएका छौँ । ती आवाजको सुनुवाइ पनि भएको छ, तर पर्याप्त भने छैन, मन्त्री श्रेष्ठले भन्नुभयो(आफ्नो पहिचानको रक्षाका लागि हाम्रा आवाज अझै बुलन्द हुनुपर्छ ।
नेपालको संविधानले समानुपातिक समावेशिता, सामाजिक न्याय तथा भाषा, संस्कृति र पहिचानका क्षेत्रमा अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले राज्यका विभिन्न निकायमा विविध समुदायको प्रतिनिधित्वका लागि अवसर सिर्जना गरेको बताउनुभयो।
वर्तमान सरकारले सभ्यता, संस्कृति, जैविक विविधता र मानव अस्तित्वलाई महत्व दिँदै वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत समेत सम्बोधन गरेको उहाँको भनाइ थियो । धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्व बोकेका सम्पदा, आदिवासी समुदायका परम्परागत सीप तथा आध्यात्मिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गरी आगामी पुस्ताका लागि जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकार संस्थागत भए नभएको विषयमा आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्राप्त अधिकारलाई संस्थागत गरिएन भने त्यसको पुस्तान्तरण हुन सक्दैन । नयाँ पुस्तालाई आफ्नो इतिहास, भाषा, संस्कृति, सम्पदा, सीप र अधिकारबारे सचेत बनाउन सकेनौँ भने हाम्रो पहिचान क्रमशः कमजोर हुँदै जान्छ, उहाँले भन्नुभयो ।
उहांका अनुसार अबको आवश्यकता अधिकार थप्ने मात्र नभई प्राप्त अधिकारको संरक्षण, कार्यान्वयन र संस्थागत विकास गर्नु हो । आदिवासी जनजातिको अधिकारलाई अवसर र आर्थिक विकाससँग जोड्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले आदिवासी समुदायका सम्पदालाई संग्रहालयमा सीमित नराखी जीवन्त प्रयोगमा ल्याउनुपर्ने बताए । संस्कृति पर्व तथा उत्सवमा प्रदर्शन गर्ने विषय मात्र नभई समुदायको पहिचान र अर्थतन्त्रसँग जोडिएको शक्तिका रूपमा विकास गर्नुपर्ने उहाँले धारणा राख्नुभयो
त्यस्तै, परम्परागत सीप, ज्ञान र जीवनशैलीलाई विज्ञान तथा प्रविधिसँग जोड्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । परम्परागत ज्ञान र सीप नेपालको दिगो विकासका लागि महत्वपूर्ण स्रोत बन्न सक्ने उहाँको भनाइ थियो । हाम्रा भाषा, संस्कार, परम्परा, मौलिक कला र अमूर्त सांस्कृतिक सम्पदा समुदायको पहिचान मात्र होइनन्, राष्ट्रका अमूल्य धरोहर हुन् । तिनको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्नु हामी सबैको साझा कर्तव्य हो, उहाँले भन्नुभयो ।
नेपालको शक्ति नै विविधतामा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले हिमालदेखि तराईसम्म तथा पूर्वदेखि पश्चिमसम्म फैलिएको सामाजिक, सांस्कृतिक र भाषिक विविधतालाई मुलुकको सबैभन्दा ठूलो सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने बताउनुभयो । तर बसाइँसराइ, तीव्र आधुनिकीकरण, जलवायु परिवर्तन, प्रविधिमा आधारित जीवनशैली तथा बाह्य संस्कृतिको प्रभावका कारण आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानमा चुनौती थपिँदै गएको बताउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend