जन आकाश
काठमाडौं । ग्रील तथा स्टिल व्यवसायमा लामो समयदेखि सक्रिय रहँदै व्यवसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यवसायी राजु लाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको कृषि, लघु, घरेलु तथा साना उद्यमी प्रवर्द्धन समितिको सदस्यमा मनोनित हुनुभएको छ।
व्यवसायिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका श्रेष्ठलाई लघु, घरेलु तथा साना उद्यमीको हकहित, समस्या र प्रवर्द्धनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी दिइनुलाई उहाँको व्यवसायिक अनुभव र योगदानको सम्मानका रूपमा समेत हेरिएको छ।
नेपालको अर्थतन्त्रमा ठूला उद्योगको मात्र भूमिका छैन। गाउँदेखि सहरसम्म सञ्चालनमा रहेका हजारौँ लघु, घरेलु तथा साना उद्योगले रोजगारी सिर्जना गर्नुका साथै ठूलो संख्यामा परिवारको आर्थिक आधारसमेत धानिरहेका छन्। देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन यी उद्यमहरूको योगदान महत्वपूर्ण रहँदै आएको छ।

तर पछिल्लो समय साना तथा घरेलु उद्यमीहरू पूँजीको अभाव, बजार व्यवस्थापनको समस्या, बढ्दो उत्पादन लागत, दक्ष जनशक्तिको कमी, प्रविधिको सीमित पहुँच तथा विभिन्न नीतिगत र प्रशासनिक झन्झटजस्ता चुनौतीसँग जुधिरहेका छन्। यस्ता समस्या समाधानका लागि उद्यमीको वास्तविक अनुभव र आवश्यकता नीति निर्माण तथा संस्थागत छलफलको तहसम्म पुर्याउनु आवश्यक देखिएको छ।
यसै सन्दर्भमा श्रेष्ठको समितिमा भएको मनोनयनलाई महत्वपूर्ण रूपमा हेरिएको छ। लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आउनुभएका श्रेष्ठले साना तथा घरेलु उद्यमीले भोग्दै आएका व्यावहारिक समस्या, अवसर र सम्भावनालाई सम्बन्धित निकायसम्म पुर्याउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उहाँको अनुभव र सक्रियताले साना तथा घरेलु उद्यमीका समस्या पहिचान गर्न, व्यवसाय प्रवर्द्धनका लागि आवश्यक पहल गर्न तथा उद्यममैत्री नीति निर्माणका लागि संस्थागत रूपमा आवाज उठाउन थप योगदान पुग्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend