जन आकाश
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर आवश्यकताअनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय कानुन र प्रचलित कूटनीतिक अभ्यासअनुसार कुनै पनि सन्धि–सम्झौता एकतर्फी रूपमा परिवर्तन गर्न नसकिने स्पष्ट पारे। यस्ता सम्झौताको पुनरावलोकन वा परिमार्जनका लागि सम्बन्धित मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संस्थासँग आपसी सहमति आवश्यक हुने उनले बताए।
नेपालको हितलाई केन्द्रमा राखेर सम्बन्धित देश तथा अन्तर्राष्ट्रिय संस्थासँग संवाद र सहकार्य गर्दै उपयुक्त समयमा सन्धि–सम्झौताको पुनरावलोकन गरिने मन्त्री खनालको भनाइ छ।
उनका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयको कार्यक्षेत्रमा रहेका सन्धि–सम्झौताको समीक्षा गर्ने काम अघि बढिरहेको छ। आवश्यकताका आधारमा सम्बन्धित पक्षसँग कूटनीतिक माध्यमबाट वार्ता गर्ने र सहमति भएका विषयलाई अन्तिम रूप दिने प्रक्रिया पनि चलिरहेको उनले जानकारी दिए।
मन्त्री खनालले सन्धि–सम्झौताको समीक्षा गर्दा अन्तर्राष्ट्रिय कानुनका सामान्य सिद्धान्त तथा कूटनीतिक प्रचलनलाई आधार बनाइने बताए। उनका अनुसार कुनै पनि द्विपक्षीय वा बहुपक्षीय सम्झौताको पुनरावलोकन, संशोधन वा नवीकरण सम्बन्धित पक्षको सहमति र स्वीकृतिमा निर्भर हुन्छ।
सरकारले सन्धि–सम्झौताको समीक्षा प्रक्रियालाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउन प्राथमिकताका आधारमा काम अघि बढाइरहेको उनले बताए।
मन्त्रालयहरूबीच समन्वय गरेर समीक्षा आवश्यक रहेका सम्झौताको पहिचान गर्ने, सम्बन्धित देश तथा अन्तर्राष्ट्रिय संस्थासँग कूटनीतिक संवाद अघि बढाउने र सहमति जुटेका सम्झौतालाई अन्तिम रूप दिने काम भइरहेको मन्त्री खनालको भनाइ छ।
उपलब्ध जनशक्ति, साधनस्रोत र आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी वार्षिक कार्ययोजनामार्फत सन्धि–सम्झौताको समीक्षा र त्यसको प्रगति नियमित रूपमा अनुगमन भइरहेको पनि उनले जानकारी दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend