जन आकाश
काठमाडौं । नेपाल र भारतबीचका महत्वपूर्ण ऐतिहासिक सन्धि–सम्झौता, विशेषगरी सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति नेपालसँग छ कि छैन भन्ने प्रश्न फेरि संसद्मा उठेको छ।
सोमबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सचेतक निश्कल राईले परराष्ट्र मन्त्री शिशिर खनाललाई सन्धिको सक्कल प्रति हराएको हो कि नभएको भन्दै प्रश्न गरेका थिए। जवाफमा मन्त्री खनालले नेपालसँग दुवै सन्धिसँग सम्बन्धित केही दस्तावेज रहेको तर औपचारिक सक्कल प्रति नै छ कि छैन भन्ने स्पष्ट जानकारी नभएको बताए।
उनका अनुसार राष्ट्रिय अभिलेखालयमा केही सन्धिका कागजात सुरक्षित छन्। ऐतिहासिक दस्तावेजको खोज, प्रमाणीकरण, डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको उनले जानकारी दिए।
यसअघि पनि संसद्मा पटक–पटक यही विषय उठ्दै आएको थियो। तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्काले २०७८ सालमै सरकारसँग सुगौली सन्धि र १९५० को मैत्री सन्धिसहितका महत्वपूर्ण दस्तावेजको सक्कल प्रति नरहेको बताएका थिए।
सुगौली सन्धिले नेपाल–अंग्रेज युद्धको अन्त्यसँगै नेपालको आधुनिक सीमाको आधार तय गरेको मानिन्छ। विशेषगरी कालापानी–लिम्पियाधुरा सीमा विवादका क्रममा यो सन्धि महत्वपूर्ण प्रमाणका रूपमा चर्चामा आउने गरेको छ।
यसैबीच, मन्त्रालय पटक–पटक विभिन्न भवनमा सर्दा महत्वपूर्ण दस्तावेज हराएका हुन् कि भन्ने प्रश्नसमेत सांसद राईले उठाएका छन्। मन्त्री खनालले भने स्थानान्तरणका क्रममा ऐतिहासिक दस्तावेजको संरक्षणलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको दाबी गरे।
मन्त्री खनालका अनुसार परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणका लागि प्रारम्भिक डिजाइन तयार भइसकेको छ। आर्थिक वर्ष २०८३र८४ मा भवन निर्माणका लागि बजेटसमेत विनियोजन भएको र प्रक्रिया पूरा भएपछि निर्माण सुरु गरिनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend