logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सुनसरी र सिराहाका प्रदर्शनमा मृत्यु भएका चार जनालाई सहिद घोषणा


  • जन आकाश
  • मंगलबार, साउन २६ २०८३

काठमाडौं । सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।



सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण छुट दिने निर्णयसमेत गरेको छ।

त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले बताए।

मन्त्रिपरिषद्ले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले सरकारले प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्नेदेखि सार्वजनिक तथा कूटनीतिक सेवासँग सम्बन्धित विभिन्न निर्णय गरेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend