जन आकाश
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तथा आफ्नो २६औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ।
‘समृद्धिको आधार पूर्ण समावेशी सञ्चार !’ भन्ने नारासहित आयोजित प्रभातफेरीमा मातृभाषा पत्रकारिताको प्रवर्द्धन, मातृभाषाको संरक्षण तथा अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
प्रभातफेरीमा सहभागीहरूले सञ्चार क्षेत्रमा पूर्ण समावेशिताको सुनिश्चितता गर्नुपर्ने, मातृभाषामा सञ्चार सामग्रीको विस्तार गर्नुपर्ने तथा आदिवासी जनजाति समुदायका भाषाको संरक्षण र प्रवर्द्धनमा राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, फोनिजका पदाधिकारी तथा सदस्यसँगै विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
फोनिजले मातृभाषामा पत्रकारिताको विकास र प्रवर्द्धनसँगै सञ्चार क्षेत्रमा आदिवासी जनजाति समुदायको समान तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तथा फोनिजको स्थापना दिवसका अवसरमा आगामी दिनमा मातृभाषा पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाबारे समेत विभिन्न कार्यक्रम आयोजना गरिने बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend