जन आकाश
काठमाडौं । सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको हो। बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक र जिपधनी बेपत्ता भएका छन्। उनीहरूको पहिचान खुल्न बाँकी रहेको सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भएका छन्।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१ आँपखोलीका २९ वर्षीय प्रेम बिक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend