जन आकाश
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक लेखा समितिमा गृह सचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आफू अनुपस्थित रहेको समयमा सार्वजनिक लेखा समितिमा गृह सचिव र आइजिपीमाथि गरिएको व्यवहारप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए।
उनले उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्ने वा चरित्रमाथि प्रश्न उठाउने काम उचित नभएको बताए। ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन। आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन,’ उनले भने।
गृहमन्त्री गुरुङले आइजिपी कार्कीले गृह मन्त्रालयको निर्देशनअनुसार दिनरात काम गरिरहेको आफू प्रत्यक्षदर्शी रहेको पनि बताए। ‘यो राम्रो भएन। यसबारे गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ। हामी खुसी छैनौं,’ उनले भने।
सार्वजनिक लेखा समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृह सचिव र आइजिपीप्रति गरेको व्यवहारलाई लिएर आलोचना भइरहेका बेला गृहमन्त्रीको यस्तो धारणा आएको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend