जन आकाश
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन्। ती विमानस्थल नियमित सञ्चालनमा ल्याउन सरकारले घनीभूत छलफल गरिरहेको उनले जानकारी दिए।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै अर्यालले दुवै विमानस्थलबाट हवाई सेवा छिट्टै निरन्तर हुने विश्वास व्यक्त गरे।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा समेत सरकार गम्भीर रहेको र आवश्यक बहस अघि बढिरहेको बताए।
पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको अधिकतम प्रयोग गर्दै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिँदै अर्यालले विकास र समृद्धिको यात्रामा समय लाग्ने भएकाले नागरिकले धैर्य गर्नुपर्ने बताए।
उनले सरकार र संसद्ले स्पष्ट जनादेश पाएकाले अब असफल हुने छुट नभएको दाबी गर्दै पर्यटनसँगै उद्योग, उत्पादन, आयात–निर्यात र सुशासनका क्षेत्रमा सुधार गर्नुपर्ने बताए। भ्रष्टाचार अन्त्य गर्ने अभियानमा सरकार दृढ रहेको उल्लेख गर्दै उनले यसमा सबैको साथ आवश्यक रहेको बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend