जन आकाश
काठमाडौं । सरकारले ग्यासको आपूर्ति व्यवस्थापनका नाममा ठूला होटल तथा व्यावसायिक प्रतिष्ठानमा अनुगमन तीव्र बनाएको छ। बिहीबार काठमाडौंको पाँचतारे होटल र्याडिसनमा अनुगमन गर्दा १८४ वटा ग्यास सिलिन्डर भेटिएपछि उद्योग तथा वाणिज्य मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयल निगमको टोलीले गरेको अनुगमनमा होटलमा नेपाल ग्यासका ११७ र एसटिसीका ६७ सिलिन्डर भेटिएका थिए। तीमध्ये करिब ७० सिलिन्डर चुलोमा प्रयोग भइरहेको बताइएको छ।
मन्त्रालयले ठूलो परिमाणमा ग्यास भण्डारण गरिएको दाबी गरे पनि होटल तथा व्यावसायिक प्रतिष्ठानले कति ग्यास मौज्दात राख्न पाउने भन्ने स्पष्ट कानुनी सीमा छैन। व्यवसायीहरूका अनुसार ठूला होटलमा दैनिक ७० देखि १०० सिलिन्डरसम्म ग्यास खपत हुने र सामान्यतया एक सातासम्मको मौज्दात राख्ने गरिन्छ।
उपभोक्ता अधिकारकर्मी लिलानाथ घिमिरेले स्पष्ट नियमबिना होटलले ग्यास लुकाएको भन्न नमिल्ने भन्दै सरकारी अनुगमनलाई ‘स्टन्ट’को संज्ञा दिएका छन्। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले पनि होटलले कति सिलिन्डर राख्न पाउने भन्ने स्पष्ट नियम नभएको बताएका छन्।
निगमले भने बजारमा ग्यास अभाव हुन नदिन होटल तथा रेस्टुरेन्टलाई अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। मन्त्रालयले होटल तथा व्यावसायिक प्रतिष्ठानमा अनुगमन थप कडा बनाउने जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend