logo शनिबार, साउन ३० २०८३ | Saturday 15th August 2026

देउवा समूहको राष्ट्रिय भेला : शेरबहादुरको सन्देश– कांग्रेस एक होस्


  • जन आकाश
  • शनिबार, साउन ३० २०८३

काठमाडौं । कांग्रेसको शेरबहादुर देउवा र कोइराला समूहले विशेष महाधिवेशनको विरोधमा काठमाडौँमा छुट्टै राष्ट्रिय भेला आयोजना गरी शक्ति प्रदर्शन गरेका छन् ।



पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउने उद्देश्यले भेला आयोजना गरिएको दाबी गर्दै शेरबहादुर देउवालाई नै वैधानिक सभापति रहेको जिकिर गरे । भेलामा नेताहरूले वर्तमान सभापति गगन थापाप्रति कडा आलोचना गर्दै विशेष महाधिवेशनलाई अवैधानिक ठहर गरी न्यायालयबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेसको आन्तरिक राजनीतिक लामो समयसम्म दुईटा समूह थिए कोइराला समूह र देउवा समूह । गिरिजाप्रसाद कोइराला जीवित छँदा उनको समूहलाई काउन्टर दिनेमा शेरबहादुर देउवा थिए । यी दुवै समूहको विवाद चर्किँदा २०५९ सालमा देउवाले पार्टी फुटाए । पछि पार्टी एकता गरेर राजनीतिक कांग्रेसको मूलधारमै देउवा आएपनि कोइरालाहरू समूहबन्दी यथावत् नै रह्यो ।

गिरिजाप्रसाद कोइरालको निधनपछि कोइराला परिवारबाट शशांक कोइराला र शेखर कोइरालाले पारिवारिक विरासत धान्दै आएका थिए । गत १४ औं महाधिवेशनमा पनि शेरबहादुर र शेखर भिडेका थिए । तर भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गगन थापा लगायतले पार्टीमा युवा नेतृत्व हुनुपर्ने भन्दै हस्तक्षेप बढाएपछि देउवा र कोइराला समूह एउटै कित्तामा उभिन पुगे ।

विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको नेतृत्वमा आएपछि निर्वाचन आयोगले समेत वैधानिक दिएपछि देउवा र कोइराला समूह कांग्रेसको मूलधारबाट बाहिरियो । उनीहरूले त्यसपछि निरन्तर रुपमा विशेष महाधिवेशनलाई अवैध दाबी गर्दै आएका छन् । त्यही आफ्नो अवैधानिक भन्ने दाबीलाई बृहत् अनुमोदन गर्न कांग्रेसको शेरबहादुर देउवा-कोइराला समूहले शुक्रबारबाट काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरी आफ्नै छुट्ट संगठित शक्ति प्रदर्शन गरेको छ ।

यो भेलामा शेरबहादुर देउवालाई पार्टीको सभापति र तत्कालीन १४ औं महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई सम्बन्धित पदकै हैसियतमा प्रस्तुत गरिएको थियो । भेलाको नेतृत्व गरिरहेका पूर्वमहामन्त्री शशांक कोइरालले बीपीले शेरबहादुरजीलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो उहाँ नै हाम्रो नेता हो भन्दै आफ्नो कुरा थालेका थिए ।

पार्टीलाई एकजुट बनाउने उद्देश्यले भेला आयोजना गरेको उनको दाबी थियो । ‘यो भेलाको आयोजना गर्नुपर्‍यो रु किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ शशांकले भने,‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो ।’

भेलाको उद्घाटन सत्रमा बोल्ने सबै जसो नेताहरूले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व तिखो आलोचना गरे । उनीहरुले नामै लिएर सभापति गगन थापालाई कांग्रेस विग्रहको कारकका रुपमा चित्रित गरे ।

कुनै बेला गगनले साथ दिएका नेता कृष्णप्रसाद सिटौलाले त सभापति भन्नै नसक्ने भन्दै भाइ भनेर सम्बोधन गरे । पूर्णबहादुर खड्काले गगनलाई महामन्त्री नै भन्दै उनीहरूले सहमतिको प्रस्ताव अस्वीकार गरेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री देउवा सम्बोधनमा आफूलाई न्यायालयप्रति भरोसा रहेको बताए । उनले पार्टीभित्र एकता चाहेको धारणा राखे । ‘पार्टी एकताका लागि दृढ हुन पर्छ । पार्टी लोकतन्त्र र राष्ट्रियता लागि एक हुनुपर्छ । संवाद सहकार्य बढोस् । पार्टी एकताबद्ध होस्,’ देउवाले भेलामा भने । लिखित मन्तव्य सकेपछि उनी केहीबेर छुट्टै बोलेका थिए । त्यहाँ उनले शाहीकालमा राजा ज्ञानेन्द्रले दुस्ख दिँदा पनि अदालतबाट न्याय पाएको प्रसंग उठाए ।

‘राजा ज्ञानेन्द्रलाई मैले भनेकै हो। सरकार हुकुम मान्न तयार छु। म प्रजातन्त्रको खिलाममा जान सक्दिन भनेकै हो। त्यसपछि मलाई जेल हाल्यो,’उनले भने,‘त्यति बेला मलाई न्यायालयले जिताएको हो। मलाई न्यायालयप्रति अटुट विश्वास छ।अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ।’

पूर्वउपसभापति पूर्णबहादुर खड्काले अहिले सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर छिमेकीसँग ध्यान पुर्‍याएर अघि बढ्न कांग्रेसकै आवश्यकता रहेको बताएका थिए ।

‘नेपालको राष्ट्रियतामा खतरा छ । त्यसलाई जोगाउनका लागि पहिलो शर्त हो नेपाली कांग्रेसको एकता । नवीन, संघीन जिम्मेवारीमा नेपाली कांग्रेस उभिएको छ,’ उनले भने, ‘यदी हामीले सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर हामीले हाम्रा छिमेकीसँग ध्यान पुर्‍याएर अघि बढ्न सकेनौं भने भदौ २४ भन्दा ठूलो स्थिति आउने देखिन्छ । त्यसका लागि कांग्रेस एकताबद्ध हुन जरुरी छ ।’

नेता डा। शेखर कोइरालाले चाहिँ लोकतन्त्रका लागि लडेको पार्टीले कसैको निरंकुशता नस्वीकार्ने बताए । तर पार्टी विभाजित मनस्थितिमा रहे पनि एकढिक्का हुनेमा विश्वस्त रहेको धारणा राखे । कोइरालाले भने, ‘नेपाली कांग्रेसमात्रै यस्तो पार्टी हो, जसले सधैं सबैलाई मिलाएर हिंडेको पार्टी हो र हामी कसैको निरंकुशता स्वीकार गर्दैनौं ।’

पूर्वउपभापति विमलेन्द्र निधिले त शेरबहादुर देउवा नै कांग्रेसको सभापति भएकाले यही सन्देश लगेर जान भेलामा सहभागीलाई अनुरोध गरे ।

‘साथीहरूले याद गर्नुहोला । नेपाली कांग्रेसको आजको पनि सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ, यो सन्देश लिएर जानुस्,’निधिले भने,‘अरू कोही होइन ।’

उनले देउवालाई निवर्तमान वा पूर्वसभापति पनि भनिरहनु नपर्ने उनले बताए । ‘देउवालाई निवर्तमान सभापति, पूर्वसभापति भनिरहनु पर्दैन, नभन्नुहोला । उहाँ नै हाम्रो पार्टीको सभापति हो,’ निधिले भने ।

देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन हुने पनि उनको दाबी छ । ‘१५ औं महाधिवेशनमा सहभागी हुन, जुनजुन कारणले साथीहरू अलग भएपनि यही किसिमले अगाडि बढ्नुपर्दछ । र, नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्दछ’ उनले भने ।

नेता सिटौलाले गगन थापाले विशेष महाधिवेशन गरेर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । ‘हाम्रो युवा भाइ हुन् गगन थापा । भाइ भन्दा अन्यथा नहोला । सभापति भन्न मलाई पटक्कै मन लागेको छैन,’ सिटौलाले भने,‘विशेष महाधिवेशनलाई मान्यता दिनै सकिएको छैन । त्यो अवैधानिक छ, अराजक ढंगले गरिएको छ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend