logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

गोमन सर्पले डसेकी बालिकाको अस्पताल डुलाउँदा–डुलाउँदै मृत्यु


  • जन आकाश
  • बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । गोमन सर्पले डसेकी इटहरी–५ की एक बालिकाको उपचारका लागि अस्पताल डुलाउँदा–डुलाउँदै मृत्यु भएको छ। पीआईसीयू सेवा उपलब्ध नहुँदा समयमै उपचार पाउन नसक्दा १३ वर्षीया आस्वाना चौहानको मृत्यु भएको परिवारले जनाएको छ।



बुधबार साँझ घरभित्र खेल्ने क्रममा गोमन सर्पले बालिकाको बायाँ हातमा डसेको थियो। सर्पले डसेको कुरा उनले तत्काल अभिभावकलाई नबताए पनि पछि जानकारी दिएपछि परिवारले हेर्दा टोकेको हातबाट रगत बगिरहेको थियो।

त्यसपछि उनलाई तत्काल नेपाली सेनाले इटहरीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। परिवारका अनुसार करिब साँझ ६ बजे उपचार केन्द्र पुर्‍याइए पनि १३ वर्षमुनिका बालबालिकाको उपचार गर्न नसकिने जानकारी दिइएको थियो।

सर्पदंश केन्द्र लैजाने क्रममा बालिकालाई बान्तासमेत भएको थियो। त्यसपछि उनलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, त्यहाँ पीआईसीयू सेवा उपलब्ध नभएको भन्दै उपचार हुन नसकेपछि थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको परिवारले जनाएको छ।

सर्पको विषका कारण अवस्था गम्भीर बनेकी बालिकालाई साँझ करिब ७ः५० बजे विराट मेडिकल कलेज पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा करिब ८ः१७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको काका मनिराज चौहानले जानकारी दिए।

समयमै आवश्यक उपचार र पीआईसीयू सेवा उपलब्ध हुन नसक्दा बालिकाको ज्यान गएको परिवारको गुनासो छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend