logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

भोटेकोशी बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण र वैज्ञानिक प्रमाण खोज्न सरकारले सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ।



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन्।

समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ। अध्ययनमा हिमनदी, पहिरो, भूगर्भ, नदीको बहाव, जलविज्ञान तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक विश्लेषण गरिनेछ।

मन्त्रालयका अनुसार बाढीलाई सामान्य अतिवृष्टिको घटनामात्र नभई विभिन्न भौगोलिक, हिमनदीय र जलविज्ञानसम्बन्धी जोखिम क्रमशः जोडिँदै विकसित भएको ‘शृङ्खलाबद्ध विपद्’ हुन सक्ने कोणबाट अध्ययन गरिनेछ।

अध्ययन तीन चरणमा हुनेछ। पहिलो चरणमा घटनाको समयक्रम र भौगोलिक क्षतिको अध्ययन, दोस्रो चरणमा तत्कालीन तथा अन्तर्निहित भौतिक कारणको पहिचान र तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनको सम्भावित प्रभावको वैज्ञानिक मूल्याङ्कन गरिनेछ।

समितिले ड्रोन तथा स्याटेलाइट प्रविधिसमेत प्रयोग गर्नेछ भने चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक तथ्यांकलाई समेत अध्ययनमा समेट्ने तयारी छ। मन्त्रालयले समितिलाई अध्ययनका लागि दुई महिनाको समय दिएको छ।

अध्ययनपछि बाढीको उत्पत्ति र प्रकृतिबारे वैज्ञानिक प्रमाणका आधारमा निष्कर्ष निकालिने मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend