logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक बस्दै


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान गरिएको छ।



सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकले प्रस्तावित राजदूत थापाको नियुक्तिसम्बन्धी विषयमा निर्णय गर्ने समितिले जनाएको छ।

यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापासँग जापानको स्थायी बसोबास अनुमति पत्र (पीआर) रहेको विषय उठेपछि निर्णय प्रक्रिया रोकिएको थियो। सुनुवाइका क्रममा सांसदहरूले विदेशी स्थायी बसोबास अनुमति पत्रसम्बन्धी संवैधानिक व्यवस्थाबारे प्रश्न उठाएका थिए।

थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि सांसदहरूले संविधानको धारा २९१ र पीआर त्यागेको समयावधिबारे थप स्पष्टता मागेका थिए।

यस विषयमा स्पष्ट हुन संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण माग गरेको थियो। तर, हालसम्म जापान सरकारबाट त्यसको जवाफ प्राप्त भइसकेको छैन।

जापान सरकारको जवाफ नआएकै अवस्थामा आज बस्न लागेको समितिको बैठकले प्रस्तावित राजदूत थापाबारे कस्तो निर्णय गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend