जन आकाश
काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार नेपाल आइपुगेका छन्। भारतले उनलाई नेपालका लागि नयाँ राजदूतमा सिफारिस गरेपछि नेपाल सरकारले सहमति (एग्रिमो) दिएको थियो। त्यसपछि भारत सरकारले औपचारिक रूपमा नियुक्त गरी उनलाई नेपाल पठाएको हो।
यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएपछि उनको स्थानमा भारतले दलेलालाई प्रस्ताव गरेको थियो।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरु गरेका थिए। उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगहरूमा रहेर काम गरिसकेका छन्।
दलेलाले भुटानका लागि भारतीय राजदूतको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। त्यस्तै, सन् २०२५ सेप्टेम्बरदेखि उनी भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नयाँ राजदूत नेपाल पठाएको हो। उनको नियुक्तिलाई नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend