logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन, २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं ।  सरकारले आज र भोलि देशभरका बालबालिकालाई लक्षित गरी राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।



स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।

कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

पोषण शाखा प्रमुख थापाले आफ्ना बालबालिकालाई पायक पर्ने नजिकैको केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेका छन्।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा गरी दुई पटक राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा निःशुल्क खुवाउँदै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend