जन आकाश
काठमाडौँ । बागमती प्रदेश सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) लाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै यातायात कार्यालयमा दर्ता प्रक्रिया सुरु भएको छ।
यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, काठमाडौँका अनुसार हालसम्म एउटा कम्पनीमार्फत पाँचवटा मोटरसाइकल सार्वजनिक सवारीका रूपमा अर्थात् कालो नम्बर प्लेटमा दर्ता भएका छन्।
बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले गत असोज १ गते यातायात व्यवस्था कार्यालय गुर्जुधारालाई आठबुँदे निर्देशन जारी गर्दै दुईपाङ्ग्रे सवारीसाधनलाई सार्वजनिक सवारीका रूपमा दर्ता तथा सञ्चालन गर्ने प्रक्रिया स्पष्ट पारेको थियो।
कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार असोज १ गतेदेखि नै दर्ता प्रक्रिया खुला गरिए पनि हालसम्म पाँचवटा मोटरसाइकल मात्रै दर्ता भएका छन्। उनका अनुसार सुरुमा सबै सवारीसाधन निजी अर्थात् रातो नम्बर प्लेटमा दर्ता हुनेछन्। त्यसपछि आवश्यक मापदण्ड पूरा गरेका सवारीसाधनलाई सम्बन्धित कम्पनीमार्फत प्रक्रिया पूरा गरी कालो नम्बर प्लेटमा रूपान्तरण गरिनेछ।
व्यक्तिगत रूपमा सवारीधनी आफैँ कार्यालय पुगेर निजी मोटरसाइकललाई सोझै सार्वजनिक सवारीमा रूपान्तरण गर्न भने पाउने छैनन्। त्यसका लागि सम्बन्धित राइड सेयरिङ कम्पनीमार्फत नै प्रक्रिया अघि बढाउनुपर्नेछ। साथै, मोटरसाइकलको उमेरसम्बन्धी मापदण्ड पनि पूरा गर्नुपर्नेछ। तोकिएको मापदण्डभन्दा पुराना मोटरसाइकललाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्न नपाइने कार्यालयले जनाएको छ।
दर्ता र सञ्चालनका लागि के छन् मापदण्ड?
मन्त्रालयले जारी गरेको निर्देशनअनुसार सार्वजनिक सवारीका रूपमा दर्ता हुने मोटरसाइकल तथा स्कुटरलाई ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ को अनुसूची ६ (खण्ड ग) बमोजिम कालो नम्बर प्लेट प्रदान गरिनेछ। यस्ता सवारीसाधनलाई मिटर जडित ट्याक्सीसरह रुट परमिटसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।
त्यस्तै, सवारीसाधनको प्रदूषण जाँच तथा मापनका लागि नामसारी गर्दा प्रयोग हुँदै आएको विद्यमान विधि र उपकरण नै प्रयोग गरिनेछ। प्रदेशको आर्थिक ऐनअनुसार तोकिएको दस्तुर लिएर ‘मझौला तथा साना सवारी परीक्षणसम्बन्धी मापदण्ड, २०७४’ बमोजिम सवारीसाधनको जाँचपास गरिने व्यवस्था छ।
यसअघि पटके इजाजत तथा पञ्जीकरण भइसकेको यातायात सेवामा थप दुईपाङ्ग्रे सवारीसाधन समावेश गर्दा पनि प्रदेश आर्थिक ऐनअनुसारकै दस्तुर लाग्नेछ।
यस्ता सवारीसाधनको भाडादर भने मन्त्रालयले निर्धारण गरेबमोजिम हुनेछ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै ‘यातायात व्यवस्थापन कार्यविधि, २०६०’ को बुँदा नम्बर ११.१२ अनुसार यात्रु बिमा अनिवार्य गरिएको छ।
बागमती प्रदेश सरकारको यो व्यवस्थासँगै राइड सेयरिङमा प्रयोग हुने मोटरसाइकल तथा स्कुटरलाई कानुनी रूपमा सार्वजनिक यातायात सेवामा आबद्ध हुने बाटो खुलेको छ। यद्यपि, हालसम्म पाँचवटा मात्रै सवारीसाधन दर्ता भएकाले यसको कार्यान्वयन र विस्तार आगामी दिनमा कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend