जन आकाश
काठमाडौं । निर्दलीय पञ्चायतकालमा भूमिगत जीवन बिताइरहेका वामपन्थी नेताहरूलाई दोलखामा आश्रय दिएर सहयोग गरेकी रनधता पोखरेलको ९१ वर्षको उमेरमा निधन भएको छ ।
भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा बिहीबार साँझ निधन भएकी पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बिहान पशुपति आर्यघाट पुगेका थिए । ओलीले पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायतले पनि आर्यघाट पुगेर पोखरेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहेकी पोखरेलप्रति श्रद्धाञ्जली दिन एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, संघीय सांसद, प्रदेशसभा सदस्य तथा बागमती प्रदेशकी पूर्वमन्त्री रचना खड्कालगायतका नेताहरू आर्यघाट पुगेका थिए ।
पञ्चायतकालमा राजनीतिक गतिविधिका कारण भूमिगत जीवन बिताउन बाध्य भएका एमाले अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरू अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायतलाई पोखरेलले आश्रय दिएर सहयोग गरेकी थिइन् ।
राजनीतिक संघर्षका कठिन समयमा वामपन्थी नेताहरूलाई संरक्षण र सहयोग गरेकी पोखरेलको योगदानलाई नेताहरूले स्मरण गरेका छन् । स्वर्गीय पोखरेलका दुई छोरा र दुई छोरी छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend