जन आकाश
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा डेब्यु खेलमै दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले विस्फोटक ब्याटिङ गरे पनि कर्णाली याक्सलाई जित दिलाउन सकेनन्। शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई ३९ रनले पराजित गरेको छ।
सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो। मिलरले ५५ बलमा ५ चौका र ७ छक्कासहित अविजित ९३ रन बनाए पनि अन्य ब्याटरबाट पर्याप्त साथ पाएनन्। दीपक डुम्रेले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले एक–एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। उसका लागि सैफ जैबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४ र इशान पाण्डेले २३ रन बनाए। थरिन्दु रत्नायके २२ तथा स्कट कुगेलेइन १३ रनमा अविजित रहे।
कर्णालीका मार्क वाटले दुई विकेट लिए।
जितसँगै पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेलमा दुई जित र दुई हार बेहोरेको कर्णाली चार अंकसहित पाँचौँ स्थानमा झरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend