जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई पद र अवसरभन्दा माथि उठेर निष्ठाको राजनीति गर्न आह्वान गरेका छन्। उनले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको राजनीतिक संघर्षको उदाहरण दिँदै चुनावी नतिजा मात्र हेरेर राजनीति नगर्न कार्यकर्तालाई सुझाव दिएका हुन्।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले रास्वपामा वडा सदस्य र वडाध्यक्षका लागि उम्मेदवार बन्ने आकांक्षी कम देखिएको तर सिधै मेयर र प्रदेश सांसद बन्न चाहनेहरू बढी रहेको भन्दै असन्तुष्टि जनाए।
‘वडाध्यक्षमा निवेदन हालेको मैले देखिनँ, एकैचोटि मेयर कहाँ वडाध्यक्ष हुने ? एकैचोटि माननीय, वडा कसले हेर्छ ? देश नै बनाउने हो, वडा के बनाउने होइन र ? यसले के देखाउँछ भने हामी अवसरको राजनीतितर्फ गइरहेका छौँ,’ उनले भने।
लामिछानेले आफूले ठूलो त्याग गरेको भन्दै चर्चा गर्ने कार्यकर्ताहरूले व्यवहारमा भने सानो त्याग गर्नसमेत नसकेको टिप्पणी गरे। पार्टीभित्र कुनै एक पदका लागि दुई जनामध्ये एक जनालाई पछि हट्न आग्रह गर्दा विवाद र झगडा हुने गरेको उनको भनाइ थियो।
त्यसपछि उनले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको राजनीतिक संघर्षको उदाहरण प्रस्तुत गरे। कांग्रेसले २०१५ सालपछि २०४६/०४७ सालसम्म लामो समय सत्ताबाहिर रहेर पनि निरन्तर संघर्ष गरेको स्मरण गराउँदै उनले त्यतिबेला पञ्चायती व्यवस्था अन्त्य हुन्छ कि हुँदैन भन्ने निश्चित नभए पनि नेताहरूले संघर्ष नछाडेको बताए।
कम्युनिस्ट नेताहरूले पनि निर्वासन र कठिन परिस्थितिमा रहेर राजनीतिक संघर्ष गरेको उदाहरण दिँदै लामिछानेले टिकट नपाउँदा वा चुनाव हार्दा राजनीति नै छाड्ने प्रवृत्ति गलत भएको बताए।
उनले निष्ठामा अडिन नसक्ने व्यक्तिले राजनीतिमा लाग्नुको अर्थ नरहेको स्पष्ट पारे। रास्वपाले अहिले १८२ सिट प्राप्त गरेको भए पनि भविष्यमा दुई सिट मात्र वा शून्य सिटमा सीमित हुन सक्ने अवस्था आए पनि राजनीतिक मूल्य र सिद्धान्तबाट विचलित हुन नहुने उनको भनाइ थियो।
‘सफलता प्राप्त भएको छ, १८२ सिट छ। भोलि दुई सिट त के, शून्य सिट भए पनि राजनीति जित्नुपर्छ साथीहरू हो। चुनाव जित्नु ठूलो कुरा होइन,’ लामिछानेले भने।
उनको अभिव्यक्तिले रास्वपाभित्र पद र टिकटको आकांक्षाभन्दा संगठन निर्माण, त्याग र राजनीतिक निष्ठालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend