जन आकाश
काठमाडौं । नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएका छन्। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ। भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते सोमबार अयोध्याबाट जनकपुरका लागि पहिलो रेल सञ्चालन हुने जनाइएको छ।
रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु हुन लागेको यस रेल सेवाले नेपाल र भारतबीच जनस्तरको सम्पर्क विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रारम्भिक चरणमा रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ। जसअनुसार जनकपुरबाट प्रत्येक शनिबार अयोध्याका लागि रेल छुट्नेछ भने अयोध्याबाट सोमबार जनकपुरका लागि रेल सञ्चालन गरिनेछ।
जनकपुरदेखि गोरखपुर हुँदै करिब ६०४ किलोमिटर दूरी पार गरेर रेल अयोध्याधाम पुग्नेछ। प्रस्तावित रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुरलगायतका स्टेसन पर्नेछन्।
भारतको रेलवे मन्त्रालयले जनकपुरलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिँदै यी दुई धार्मिक तथा सांस्कृतिक महत्व बोकेका तीर्थस्थलबीच रेल सम्पर्क विस्तारलाई विशेष महत्व दिएको जनाएको छ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा भारतीय पक्षले १७ कोचको रेल सञ्चालनको परीक्षण गरेको थियो। उक्त परीक्षण जयनगरदेखि कुर्थासम्म गरिएको थियो।
नेपाल पक्षले आफ्नै व्यवस्थापनमा रेल सेवा सञ्चालन गर्ने तयारी पूरा नगरेसम्म भारतीय रेलले नै सेवा सञ्चालन गर्ने दुई देशबीच सहमति भएको छ। प्रारम्भिक चरणमा भारतीय पक्षले रेल सञ्चालन गर्ने भएकाले टिकटको मूल्यसमेत भारतीय पक्षले नै निर्धारण गर्ने जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend