जन आकाश
कार्तिक २९,काठमाडौँ
माध्यमिककालीन कवि व्याकरण नेपालको १०४औँ स्मृति दिवस, वैयाकरण नेपाल स्मृति प्रतिष्ठानको साधारणसभा तथा ‘व्याकरण नेपाल स्मृति पुरस्कार अर्पण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ ।
पुतलीसडकस्थित ग्रिनलिफ क्याफे, रामशाहपथमा आयोजित यस कार्यक्रममा साहित्य तथा समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने वरिष्ठ समाजसेवी,राजनीतिज्ञ एवं साहित्यकार भद्रकुमारी घलेलाई ‘वैयाकरण नेपाल स्मृति पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालको सभापतित्वमा सम्पन्न गरिएको उक्त कार्यक्रममा नेपाली शिक्षा परिषद्का अध्यक्ष प्रा. डा. रमा शर्मा प्रमुख आमनन्त्रित व्यक्तित्वका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा न्याय शताब्दीपुरुष तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, प्रतिष्ठानकी संरक्षिका यशोदा नेपाललगायत विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

पुरस्कार तथा सम्मान वितरण
कार्यक्रममा प्रमुख आमनन्त्रित व्यक्तित्व प्रा. डा. रमा शर्मा र सभाध्यक्ष एकमणि नेपालबाट सम्मानित व्यक्तित्व भद्रकुमारी घलेलाई माला, दोसल्ला, सम्मानपत्र र रु. ५१,००० ( एकाउन्न हजार) नगद राशि सहित ‘वैयाकरण नेपाल स्मृति पुरस्कार २०८२’ अर्पण गरियो । पुरस्कृत व्यक्तित्व घलेलाई न्याय शताब्दीपुरुष कृष्णप्रसाद भण्डारीबाट माला अर्पण, संरक्षिका यशोदा नेपालबाट दोसल्ला अर्पण, प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.रमा शर्माबाट सम्मानपत्र र सभाध्यक्ष एकमणि नेपालबाट नगद राशि प्रदान गरिएको थियो । यसका साथै, दाहाल परिवारबाट स्थापित नगद राशि १० हजार तथा छात्रवृत्ति ‘विद्यादेवी-बाबुराम दाहाल पुरस्कार’ बाट जनोदय मा.वि., कोट, भोजपुरकी छात्रा सरुणा वि. क. तथा विद्देश्वर मा.वि.टेम्केमैयु गाउँपालिका-८, गोगनेकी छात्रा समीक्षा भारतीलाई प्रदान गरियो ।

कार्यक्रमको सुरुवातमै प्रमुख आमन्त्रित व्यक्तित्व प्रा. डा. रमा शर्माबाट दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । साथै माध्यमिककालीन कवि वैयाकरण नेपाल, प्रमुख संरक्षक कीर्तिशेष प्राज्ञ ज्ञानमणि नेपाल र कीर्तिशेष संरक्षक टङ्कमणि नेपालको तस्वीरमा माल्यार्पण तथा पुष्पार्पण गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सहसचिव सन्तोषमणि नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव कोषराज न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष मनोजमणि नेपालको अनुपस्थितिमा सहसचिवले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षासेवी साहित्यकार सीता भट्टराईले सम्मानित व्यक्तित्व भद्रकुमारी घलेको परिचयात्मक मन्तव्य राख्नुभएको थियो भने सम्मानित व्यक्तित्व घलेले मन्तव्यका क्रममा प्रतिष्ठानबाट प्राप्त पुरस्कारको राशि संस्थाकै अक्षयकोषका लागि समर्पण गर्दै आफूलाई प्राप्त सम्मान र पुरस्कारका लागि प्रतिष्ठान प्रति आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य प्रा.डा.शेषराज नेपालले माध्यमिककालीन कवि वैयाकरण नेपालको योगदान र उहाँको पृष्ठभूमि बारे मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा. शिवकुमार राई (सल्लाहकार) र प्रमुख आमन्त्रित व्यक्तित्व प्रा. डा. रमा शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सभाध्यक्ष एकमणि नेपालले धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य तथा कवि प्रह्लाद पोखरेलले गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend