जन आकाश
काठमाडौं । टर्कीमा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
सम्मेलनमा अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए।
उनले सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा पनि प्रस्तुत गरेका छन्। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली, बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग जलवायु वित्त र विपद्पछिको ऋणमोचनका विषयमा सहकार्य गर्नेबारे छलफल गरेका थिए।
त्यस्तै, बेलायत, अस्ट्रेलिया, स्वीडेन र जमाइकाका जलवायु दूत तथा संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष दूतसँग पनि नेपालको जलवायु एजेन्डामा सहयोग जुटाउने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। यसका साथै उनले हरित जलवायु कोषको नेतृत्व, विश्व मौसम विज्ञान संगठनका प्रतिनिधि तथा जलवायु र अर्थशास्त्रका विज्ञहरूसँग पनि भेटवार्ता गरेका थिए।
अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिनुका साथै सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको सम्मान कार्यक्रममा समेत सहभागिता जनाएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend