जन आकाश
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले शनिबार त्यहाँका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको गृहमन्त्री गुरुङले बताएका छन्।
भेटमा नेपालले बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्र र सुरक्षा प्रविधिमा यूएईको लगानी तथा सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरेको उनले जानकारी दिएका छन्।
त्यसैगरी फेसलेस पोलिसिङ, गैरघातक सुरक्षा उपकरणको उत्पादन, सुरक्षा निकायको आधुनिकीकरण तथा प्रविधिमैत्री रूपान्तरणका विषयमा समेत विचार आदानप्रदान भएको गृहमन्त्री गुरुङले बताएका छन्।
नेपालले प्रस्ताव गरेका विभिन्न परियोजनामा सहकार्य गर्न यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानीले सकारात्मक तत्परता देखाएको गृहमन्त्री गुरुङको भनाइ छ।
यस भेटलाई नेपाल–यूएईबीच आर्थिक, लगानी तथा सुरक्षा प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend