जन आकाश
काठमाडौं । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ।
अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलालाई मंसिर १ गते तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याई आमा र शिशुको जीवन रक्षा गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
प्रसूति जटिलताका कारण जोखिममा परेका महिलालाई तत्काल उद्धार गरी उपचारको पहुँचमा पुर्याउने यस कार्यक्रमले दुर्गम क्षेत्रका महिलाका लागि जीवनरक्षामा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend