जन आकाश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले कसैको दया, माया र कृपाले नभई जनताको समर्थन र संघर्षबाट फेरि सत्तामा पुग्ने बताएका हुन्।
उनले एमालेविरुद्ध घेराबन्दी गरेर असंवैधानिक बाटोबाट सरकारबाट हटाइएको आरोप लगाउँदै फेरि सिंहदरबार प्रवेश गर्ने दाबी गरे।
ओलीले भने, ‘फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ। देश बनाउँछ नेकपा एमालेले।’
उनले सामाजिक सञ्जालमा एमालेको राजनीतिक भविष्यबारे भइरहेका टिप्पणीप्रति कटाक्ष गर्दै केही समय फेसबुकमा आलोचना गर्दै बस्न आग्रह गरे।
एमाले सरकारमा फर्किएपछि विकास र समृद्धिका कामलाई निरन्तरता दिने बताउँदै ओलीले पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई अझ दृढताका साथ अगाडि बढाउने उल्लेख गरे।
उनले एमाले राष्ट्रियताको रक्षा, देशको विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको दाबीसमेत गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend