जन आकाश
काठमाडौं । कर्मचारी सरुवासम्बन्धी निर्णय कार्यान्वयन नगरेको भन्दै सरकारले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई नयाँ कार्यालयमा हाजिर नगराएको तथा नयाँ नियुक्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी नदिएको विषयलाई आधार बनाएर यस्तो निर्णय गरेको हो।
मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी नयाँ कार्यालयमा हाजिर नभई पुरानै पालिकामा कार्यरत रहेका थिए। त्यस्तै, गाउँपालिकाले नयाँ नियुक्त प्रमुख प्रशासकीय अधिकृतलाई समेत जिम्मेवारी सम्हाल्न दिएको थिएन।
मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित कामकाजमा लगाउन निर्देशन दिएको छ।
साथै, कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै गाउँपालिकाको खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरेको मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend