जन आकाश
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेका चीनको ‘चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री खनालले यस्तो आग्रह गरेका हुन्।
गत भदौमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र चिसोका कारण चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा तातोपानी नाका तत्काल खुलाउन आवश्यक रहेको उनले बताए।
मन्त्री खनालले तातोपानी नाका काठमाडौंसँग सबैभन्दा नजिक रहेको र नेपाल–चीनबीचको ऐतिहासिक मित्रताको प्रतीकसमेत भएकाले दुई देशबीचको व्यापार तथा सम्पर्क सञ्जाल विस्तारका लागि यसको सञ्चालन महत्त्वपूर्ण रहेको धारणा राखे।
जवाफमा अध्यक्ष याङ वानमिङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
भेटवार्ताका क्रममा नेपाल–चीनबीचको व्यापार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध तथा शिक्षा लगायतका विविध विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend