जन आकाश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय गौरवको काठमाडौं–तराई (मधेस) द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुरस्थित ३ हजार ३९९ मिटर लामो महादेवटार सुरुङमार्गको बुधबार ‘ब्रेक थ्रु’ गरिएको छ।
ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकास निर्माणका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
उनले विकट भौगोलिक अवस्था, जटिल भूबनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ र पुल निर्माण हुँदै देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना क्रियाशील रहेको बताए।
काठमाडौं उपत्यकालाई तराई–मधेससँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो आधुनिक द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उनको भनाइ छ।
उनका अनुसार द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी घट्नुका साथै इन्धन खपत तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत उल्लेख्य बचत हुनेछ।
राष्ट्रपति पौडेलले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने र देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा भूमिका खेल्ने यस आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न नेपाल सरकार र नेपाली सेना दृढ रहेको विश्वास व्यक्त गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend