logo बुधबार, मंसिर २ २०८३ | Wednesday 18th November 2026
logo

बुधबार, मंसिर २ २०८३ | Wednesday 18th November 2026

एमालेको राष्ट्रिय भेला सुरु, ३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै


  • जन आकाश
  • बुधबार, मंसिर २ २०८३

काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा मध्याह्नदेखि भेला सुरु भएको हो।



भेलामा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी छन्।

एमालेका अनुसार भेलामा नेतृत्वदेखि पालिका तहसम्मका गरी ३ हजार ४१४ जना सहभागी हुनेछन्। भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। भेलामा पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीसहित अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहनेछ।

भेलामा पार्टीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र १५ वटा कामको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ। भेलालाई अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्थाबारे सम्बोधन गर्नेछन् भने वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले पनि धारणा राख्ने कार्यक्रम छ।

त्यस्तै, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। एमालेले राष्ट्रिय भेलालाई पार्टीको संगठनात्मक गतिविधि र आगामी स्थानीय तहको निर्वाचनको तयारीसँग जोडेर आयोजना गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend