जन आकाश
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन्।
आयोजनाअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको ब्रेक थ्रु कार्यक्रममा बोल्दै मन्त्री लम्सालले केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना प्रभावित भएको बताए।
उनले प्याकेज ९ ए, ९ बी र ८ बी लगायतका केही प्याकेजमा निर्माण कम्पनीको कार्यसम्पादन सन्तोषजनक नरहेको उल्लेख गरे। संशोधित कार्यतालिकाअनुसार समेत काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का रद्द गरिने उनको भनाइ छ।
मन्त्री लम्सालले निर्माण कम्पनीहरूले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै अब नेपाली सेनाले निर्माण व्यवसायीलाई थप सुविधा दिन आवश्यक नरहेको बताए।
सरकारले फास्ट ट्र्याक निर्माणको अवधि थप तीन वर्षभन्दा बढी लम्ब्याउन नचाहेको उल्लेख गर्दै उनले कमजोर कार्यसम्पादन भएका कम्पनीलाई ठेक्कामा निरन्तरता दिन नसकिने स्पष्ट पारे।
उनले निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न निर्माण कार्यलाई तीव्रता दिनुपर्ने र काममा ढिलाइ गर्ने कम्पनीमाथि कडा कदम चालिने बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend