जन आकाश
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाउँदै देश भय र त्रासको वातावरणमा चलिरहेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा असंवैधानिक तथा गैरकानुनी गतिविधि बढेको आरोप लगाए। उनले हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने र आगजनी, लुटपाट तथा तोडफोडबाट लोकतान्त्रिक एवं संवैधानिक व्यवस्था कमजोर बनाउने काम भएको दाबी गरे।
ओलीले यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको आरोपसमेत लगाए। वर्तमान सरकार दमनकारी र प्रतिशोधी व्यवहार देखाउँदै फासिवादतर्फ उन्मुख भएको उनको टिप्पणी थियो।
उनले मुलुकको आर्थिक अवस्था निरन्तर खस्किँदै गएको भन्दै सरकारसँग खर्बौँ रुपैयाँ थन्किएर बसे पनि पीडित नागरिकले राहत पाउन नसकेको बताए।
त्यस्तै, सामाजिक मूल्य मान्यता कमजोर हुँदै गएको र नेपाली भाषा, संस्कृति तथा सभ्यतामाथि आक्रमण भइरहेको उनको आरोप थियो।
अध्यक्ष ओलीले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको टिप्पणी गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था पनि कमजोर बन्दै गएको बताए। अस्पतालबाट उपचार नपाएर महिलाले सडकमा नै प्रसूति हुनुपर्ने अवस्था आउनु स्वास्थ्य क्षेत्रको दयनीय अवस्थाको उदाहरण भएको उनको भनाइ थियो।
सरकारको कार्यशैली र मुलुकको समग्र अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सुधार आवश्यक रहेको धारणा राखे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend