logo शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026
logo

शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026

सडक आन्दोलन र चुनावी तयारी सँगसँगै अघि बढाउने एमालेको संकल्प, सरकारविरुद्ध आन्दोलनको चेतावनी


  • जन आकाश
  • शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । नेकपा एमालेले पछिल्लो राजनीतिक परिस्थितिबाट पार्टीलाई पुनः सशक्त बनाउने रणनीतिसहित सडक आन्दोलन र चुनावी तयारीलाई सँगसँगै अघि बढाउने संकल्प गरेको छ।



बुधबार र बिहीबार काठमाडौंमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्र पुनर्बहाली र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवश्यक परे आन्दोलनमा उत्रिने निर्णय गरेको हो। साथै, आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने पनि एमालेले जनाएको छ।

भेलाबाट पारित २१ बुँदे समसामयिक विशेष प्रस्ताव तथा संकल्पमा वर्तमान सरकारका कामकारबाहीको विरोधदेखि पार्टीको आन्तरिक शुद्धीकरण र संगठन सुदृढीकरणसम्मका विषय समेटिएका छन्।

एमालेले गत वर्षको चुनावी पराजयलाई सामान्य चुनावी हारका रूपमा मात्रै नलिएको जनाएको छ। भदौ २३ र २४ गतेका घटनापछि विकसित राजनीतिक परिस्थितिलाई आफ्नो पराजयको प्रमुख कारणका रूपमा व्याख्या गर्दै एमालेले आफू एउटा लडाइँमा पराजित भए पनि सिंगो युद्ध नहारेको दाबी गरेको छ।

भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध राजनीतिक घेराबन्दी भएको बताएका थिए। उनले लोकतन्त्रको पुनर्बहालीका लागि जनताको पुनर्जागरणको नेतृत्व एमालेले गर्नुपर्ने भन्दै अगुवा कार्यकर्तालाई प्रतिबद्धतासहित जनतामाझ जान निर्देशन दिएका थिए।

सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप

एमालेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आठ महिनाको कार्यकाललाई राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन, संवैधानिक संस्थामाथिको हस्तक्षेप र स्वेच्छाचारी शासनका रूपमा चित्रण गरेको छ।

प्रधानमन्त्रीले शपथ लिएको केही घण्टामै पार्टी अध्यक्ष ओलीलाई गिरफ्तार गरिएको घटनालाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भन्दै एमालेले उपाध्यक्ष विष्णु पौडेलसहित विभिन्न राजनीतिक दलका नेताहरूको गिरफ्तारीप्रति पनि आपत्ति जनाएको छ।

त्यस्तै, भदौ २३ र २४ गते भएका घटनाको छानबिन प्रतिवेदन सरकारले सार्वजनिक नगरेको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ।

संविधान संशोधनका विषयमा पनि एमालेले सरकारको आलोचना गरेको छ। सरकारद्वारा गठित कार्यदलले संविधानका २४५ वटा धारा संशोधन गर्न दिएको सुझाव र प्रदेश खारेजीसम्बन्धी अभिव्यक्तिलाई संघीयतामाथिको प्रहारका रूपमा व्याख्या गरेको छ।

सुकुम्बासी बस्तीमा डोजर चलाएर गरिएको विस्थापन, महँगी, कर वृद्धि, ग्यास अभाव र व्यवसायीको खस्किँदो मनोबललाई समेत एमालेले सरकारविरुद्धको प्रस्तावमा समेटेको छ। विस्थापित परिवारको पुनर्स्थापना, घरायसी विद्युत् प्रयोगमा लगाइएको कर फिर्ता र महँगी नियन्त्रण गर्न पनि माग गरेको छ।

पार्टीभित्रै शुद्धीकरण गर्ने घोषणा

सरकारको आलोचनासँगै एमालेले आफ्नै पार्टीभित्र देखिएका कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

भेलाबाट पारित संकल्पमा नेता तथा कार्यकर्तामा देखिएको विलासी जीवनशैली, जनताबाट टाढिने प्रवृत्ति, आर्थिक विचलन, आचरणगत समस्या र गुटबन्दी अन्त्य गर्ने घोषणा गरिएको छ।

आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुँदै त्यस्ता प्रवृत्ति हटाउने एमालेको प्रतिबद्धता छ।

त्यस्तै, नेता तथा कार्यकर्ताले आफूलाई जनताको सेवकका रूपमा स्थापित गर्नुपर्ने, जिम्मेवारीअनुसार परिणामप्रति जवाफदेही हुनुपर्ने र जनताका गुनासा तथा आलोचना सुन्नुपर्ने निष्कर्ष भेलाले निकालेको छ।

युवा पुस्तासँग संवाद गर्ने, उनीहरूको मनोविज्ञान बुझ्ने र आन्दोलनमा सहभागी गराउने प्रतिबद्धता पनि एमालेले जनाएको छ। आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा जनता तथा कार्यकर्ताको भावना र पार्टीको निर्धारित विधि पालना गर्ने निर्णयसमेत गरिएको छ।

भारत भ्रमणदेखि बाढीपीडितको पुनर्स्थापनासम्मका विषय समेटिए

एमालेले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई नेपालको राष्ट्रिय हितसँग जोडेर हेर्न आग्रह गरेको छ।

सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु तथा लामो समयदेखि रोकिएका परियोजनाको कार्यान्वयनबारे स्पष्ट समयतालिकासहितको मार्गचित्र तय गर्नुपर्ने एमालेको माग छ।

त्यसैगरी, भोटेकोशीलगायत विभिन्न नदीमा आएको बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापनामा सरकार निष्प्रभावी भएको आरोप एमालेले लगाएको छ। राहत कोषमा १८ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भए पनि पीडितले न्यूनतम सुविधा नपाएको भन्दै पुनर्स्थापना र पुनर्निर्माणको काम तत्काल अघि बढाउन माग गरेको छ।

जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन पनि सरकारले नसकेको एमालेको आरोप छ।

३ हजार ४१४ प्रतिनिधि सहभागी

राष्ट्रिय भेलामा अध्यक्ष ओलीसहित पार्टीका वरिष्ठ नेताहरूले राजनीतिक तथा सांगठनिक विषयमा धारणा राखेका थिए।

वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने विषयमा सम्बोधन गरेकी थिइन्। उपाध्यक्ष रामबहादुर थापा बादलले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका विषयमा धारणा राखेका थिए भने उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वमा भएका कामहरूको विवरण प्रस्तुत गरेका थिए।

त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे प्रशिक्षण दिएका थिए।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ नारासहित आयोजित भेलामा देशभर र प्रवासबाट गरी ३ हजार ४१४ प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ।

भेलाले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको पक्षमा रहेका राजनीतिक दल, नागरिक समाज तथा बौद्धिक समुदायसँग सहकार्य गर्नसमेत आह्वान गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend