जन आकाश
-जयराम बिडारी
दायित्व वाङ्मय प्रतिष्ठानले विभिन्न विधाका चार जना वरिष्ठ साहित्यकार तथा भाषाविद्हरूलाई सम्मान तथा पुरस्कार समर्पण गरेका थिए ।
शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षको प्रे़क्षालयमा प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहका बीच साहित्यकार रामप्रसाद पन्तका दुई कृति र साहित्यिक पत्रिका ‘दायित्व’को १६१औँ अङ्कको समेत लोकार्पण गरिएका थिए ।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व एवं वरिष्ठ साहित्यकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने चार स्रष्टाहरूलाई पुरस्कृत गरिएका थिए । समारोहमा ‘शङ्कर कोइराला आख्यान पुरस्कार’ बाट आख्यानकार बाजुराम पौडेल, ‘कुमार–सरस्वती साहित्य पुरस्कार’ बाट प्रा. कपिल अज्ञात, ‘चूडामणि भाषाव्याकरण–कोश पुरस्कार’ बाट भाषाविद् प्रा.डा. दानराज रेग्मी र ‘रामप्रसाद पन्त वाङ्मय पुरस्कार’ बाट साहित्यकार महेश प्रसाईलाई समर्पण गरिएका थिए ।
सोही अवसरमा प्रमुख अतिथि घिमिरे तथा मञ्चासिन व्यक्तित्वहरुले अध्यक्ष पन्तद्वारा लिखित नियात्रोपन्यास कृति ‘बीस बास’ र संस्मरण कृति ‘स्मृतिपुञ्ज’ का साथै प्रतिष्ठानको मुखपत्र ‘दायित्व’को १६१औँ अङ्कको लोकार्पण गरेका थिए ।
लोकार्पित कृतिहरूमाथि समीक्षात्मक मन्तव्य राख्दै प्रा.डा. भागवत ढकालले ‘स्मृतिपुञ्ज’मा इतिहासको आलोकमा नलेखिएका कथा र जीवनका भोगाइहरूलाई सुन्दर बिम्बमार्फत उतारिएका बताए । भने यस्तै, ‘बीस बास’ कर्णाली प्रदेशको यात्रा विवरण, स्कन्ध पुराणको सन्दर्भ र सहिद भीमदत्त पन्तको जीवनसङ्घर्ष समेटिएको उत्कृष्ट नियात्रोपन्यास भएको उल्लेख गर्दै कृति सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोचक घिमिरेले बदलिँदो समय अनुसार कार्यक्रमहरूमा नयाँ पुस्ता जेन–जी पुस्ता लाई पनि प्रोत्साहन र सहभागिता जनाउनुपर्ने सुझाव दिएका थिए । उनले आफ्ना दिवङ्गत मित्रहरू शङ्कर कोइराला, कुमारबहादुर जोशी र चूडामणि गौतमको साहित्यिक तथा भाषिक योगदानको स्मरण गर्दै चूडामणि गौतमले नेपाली भाषा र व्याकरणको रक्षाका लागि गरेका सङ्घर्ष ऐतिहासिक रहेको उल्लेख गरेका थिए । घिमिरेले प्रतिष्ठाद्वारा योग्य पात्रहरुका नाममा स्थापित पुरस्कारबाट सुयोग्य व्यक्तित्वहरुलाई पुरस्कृत गरिएकामा दायित्व वाङ्मय प्रतिष्ठानको प्रशंसा गर्दै पुरस्कृत व्यक्तित्वहरुलाई शुभकामना दिएका थिए ।
समारोहमा पुरस्कृत स्रष्टाहरूले पुरस्कारले आफूहरूलाई थप सिर्जनात्मक ऊर्जा र जिम्मेवारी बोध गराएका भनेका थिए । यसै क्रममा प्रा.डा. दानराज रेग्मीले लोपोन्मुख भाषाहरूको अभिलेखीकरणको महत्त्वमाथि प्रकाश पार्दै आगामी पाँच वर्षभित्र जनजीवनमा प्रयुक्त हुने नयाँ शब्दकोश लेख्ने घोषणा गरेका थिए । प्रा. कपिल अज्ञातले महाकवि देवकोटाका बारे मिहिन ढङ्गले अनुसन्धान गरी समालोचनामा अग्रणी मानिने गुरु कुमारबहादुर जोशीको नामको पुरस्कारबाट पुरस्कृत हुन पाउनु आफ्नो अहोभाग्य रहेको बताए । यसैगरी, बाजुराम पौडेलले पुरस्कारलाई आफूले सिर्जनाको सफलताको मापक र सिर्जनात्मक बोझका रूपमा लिएको बताउँदै आगामी लेखनमा न्याय पुग्ने गरी दायित्व बढेको बताए । सोही क्रममा महेश प्रसाईले सार्थक लेखनकर्ममा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई पुरस्कृतका लागि योग्य ठहर्याउने चयन समिति र प्रतिष्ठान प्रति आभार प्रकट गरे ।
प्रतिष्ठानका संस्थापक ठाकुर शर्मा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि डा. महेश्वर शर्मा, संरक्षक सूब सेन, सल्लाहकारहरू अर्जुन विरक्ति, कलाधर काफ्ले र प्रह्लाद पोख्रेल तथा पुरस्कार संस्थापक परिवारका तर्फबाट अनिल कोइराला, कुमुद जोशी र असीम गौतम लगायतको उपस्थिति रहेका थिए । महासचिव यादव भट्टराईले कविता वाचनसहित कार्यक्रमको सहजीकरण गरिएको उक्त कार्यक्रममा सयौं संख्यामा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै सभापति रामप्रसाद पन्तले योग्य व्यक्तित्वहरूलाई पुरस्कृत गर्न पाउँदा प्रतिष्ठान स्वयं गौरवान्वित भएको बताए । असोजदेखि पुससम्म चारै जना स्रष्टाको जन्मजयन्ती पर्ने भएकाले सोही अवसर पारेर पुरस्कार समर्पण गरिएको जानकारी दिँदै सम्बद्ध सबैप्रति धन्यवाद ज्ञापन सहित सभा विसर्जन गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend