जन आकाश
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट सोमबार दिउँसो प्रस्थान गरेको सरयू कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई सरकारी टोली र सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा फहराउँदै स्वागत गरेका छन्। स्वागतका क्रममा तीर्थयात्रीलाई फूलमाला लगाएर सम्मानसमेत गरिएको थियो।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट झण्डा देखाएर रेलसेवाको शुभारम्भ गरेपछि अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गरेको थियो।
नेपाल र भारतबीचको ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा रोटीबेटी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्या रेलसेवा सुरु गरिएको हो।
भगवान् रामको जन्मभूमि अयोध्या र माता जानकीको माइती जनकपुरधामलाई जोड्ने यस रेलसेवाले दुई देशबीचको धार्मिक पर्यटन तथा तीर्थाटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
त्रेतायुगदेखि जोडिएको रामजानकीको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत यस सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend