जन आकाश
काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको प्रदेश रङ्गशाला निर्माण कम्पनीले सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको रङ्गशाला लामो प्रतीक्षापछि औपचारिक रूपमा सरकारको स्वामित्वमा आएको हो।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको रङ्गशाला हस्तान्तरण भएसँगै प्रतियोगिता सञ्चालनको तयारीले थप गति लिने अपेक्षा गरिएको छ।
एमएसी–आरजीएसएल जेभीले निर्माण गरेको रङ्गशाला २०८१ जेठ ११ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयमा काम पूरा हुन सकेको थिएन। निर्माण सम्पन्न भएपछि पनि प्राविधिक मूल्याङ्कन, अन्तिम भुक्तानी र हस्तान्तरण प्रक्रियामा ढिलाइ हुँदा रङ्गशाला लामो समयसम्म औपचारिक रूपमा सरकारको मातहतमा आउन सकेको थिएन।
करिब तीन करोड रुपैयाँ अन्तिम भुक्तानी तथा प्राविधिक मूल्याङ्कनको विषय टुङ्गिन नसक्दा हस्तान्तरण प्रक्रिया लम्बिएको थियो। निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो। राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा रङ्गशालामा ताला लगाउने चेतावनीसमेत दिएको थियो। अन्ततः प्राविधिक मूल्याङ्कन र भुक्तानी प्रक्रिया अघि बढेपछि रङ्गशाला सरकारलाई हस्तान्तरण गरिएको हो।
करिब १० हजार दर्शक क्षमताको आधुनिक रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान, आठ लेनको सिन्थेटिक एथ्लेटिक्स ट्र्याक, पौडी पोखरी, मार्सल आर्ट्स हल, भलिबल तथा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिएका छन्। कभर्डहलमा मात्रै करिब १ हजार ५०० दर्शक अट्ने क्षमता रहेको छ।
त्यस्तै खेलाडीका लागि चेन्जिङ रुम, मेडिकल कक्ष, फिजियोथेरापी कक्ष, रेफ्री कक्ष, भीआईपी प्यारापिट तथा भूमिगत पार्किङलगायत सुविधा उपलब्ध छन्।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते यही रङ्गशालामा हुनेछ। प्रतियोगिता भने मंसिर ८ गतेदेखि नै सुरु भइसकेको छ। मंसिर २७ गते समापन समारोह पनि यहीँ आयोजना गर्ने तयारी छ।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ गरी ११ टोलीका खेलाडी सहभागी हुँदैछन्। ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रतियोगितामा करिब ६ हजार ५०० खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षालगायतका तयारी अघि बढाइएको प्रदेश सरकारले जनाएको छ। खेलाडी तथा अफिसियलको बसोबासका लागि पाँच हजार ९०० बेडको व्यवस्था गरिएको छ।
यसैबीच, राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएपछि रङ्गशालाको नियमित सञ्चालन र संरक्षण प्रदेश सरकारका लागि मुख्य चुनौती बन्ने देखिएको छ। डेढ अर्बभन्दा बढी लगानीमा निर्माण भएको पूर्वाधारलाई प्रतियोगितामा मात्रै सीमित नराखी नियमित खेल प्रशिक्षण, खेलाडी उत्पादन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको केन्द्र बनाउनुपर्ने आवश्यकता देखिएको छ।
रङ्गशाला हस्तान्तरणसँगै कर्णाली प्रदेशले १०औँ राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्ने मात्र नभई निर्माण भएको खेल पूर्वाधारलाई दीर्घकालीन रूपमा उपयोग गर्ने जिम्मेवारीसमेत पाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend