logo मंगलबार, मंसिर ८ २०८३ | Tuesday 24th November 2026
logo

मंगलबार, मंसिर ८ २०८३ | Tuesday 24th November 2026

कर्णालीको भलिबल टिमबाट सन्तोष थापा हटाइएपछि छनोट प्रक्रियामाथि प्रश्न


  • जन आकाश
  • मंगलबार, मंसिर ८ २०८३

विनोद नेपाली
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको भलिबल टिममा छनोट भएका दैलेखका भलिबल खेलाडी सन्तोष थापालाई अन्तिम समयमा टिमबाट हटाइएको खबर सार्वजनिक भएपछि खेलकुद क्षेत्र तरंगित बनेको छ। यस घटनालाई लिएर खेलप्रेमी तथा सर्वसाधारणले छनोट प्रक्रिया र खेलाडीमाथि गरिएको व्यवहारप्रति प्रश्न उठाएका छन्।



आउटसाइड हिटर (Outside Hitter) पोजिसनमा खेल्ने थापा छनोट प्रक्रियाबाट टिममा परे पनि अन्तिम समयमा बाहिरिनुपरेको विषयले विभिन्न आशंका जन्माएको छ। आखिर उनलाई टिमबाट हटाउनुको कारण के हो? प्राविधिक कमजोरी, खेल प्रदर्शन वा अन्य कुनै कारणले यस्तो निर्णय गरिएको हो? यसबारे सम्बन्धित निकायबाट अहिलेसम्म स्पष्ट आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

के छनोट प्रक्रियामा कुनै राजनीतिक प्रभाव वा व्यक्तिगत स्वार्थले काम गरेको हो? अथवा खेलसम्बन्धी कुनै ठोस आधारमा निर्णय गरिएको हो? यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिन आवश्यक देखिएको छ।

खेलाडी छनोटमा पारदर्शिता, निष्पक्षता र निश्चित मापदण्ड हुनुपर्ने भन्दै आलोचकहरूले खेलाडीको मेहनत र प्रतिभामाथि अन्याय गर्न नहुने बताएका छन्। नयाँ खेलाडीलाई प्रोत्साहन र अवसर दिनुपर्नेमा उनीहरूको मनोबल गिराउने गरी निर्णय गरिनु उचित नहुने उनीहरूको धारणा छ।

खेलकुदको उद्देश्य खेलाडी उत्पादन गर्ने, प्रतिभाको सम्मान गर्ने र नयाँ पुस्तालाई अघि बढाउने हो। खेलाडीको मनोबल कमजोर बनाउने वा व्यक्तिगत स्वार्थका आधारमा अवसरबाट वञ्चित गर्ने होइन। यदि सन्तोष थापालाई कुनै उचित कारण र खेलसम्बन्धी आधारबिना टिमबाट हटाइएको हो भने त्यस विषयमा छानबिन गरी जिम्मेवार पक्षलाई जवाफदेही बनाउनुपर्छ।

खेलाडीको मेहनत र प्रतिभाको सम्मान होस्, खेलकुदमा राजनीति र मनोमानी होइन, निष्पक्षता र पारदर्शिता कायम होस्।

सम्बन्धित खेलकुद निकायले सन्तोष थापालाई टिमबाट हटाउनुको वास्तविक कारण तत्काल सार्वजनिक गरी उठेका प्रश्नको जवाफ दिन आवश्यक छ। कर्णालीका खेलाडीको भविष्य र खेलकुदको विश्वसनीयतासँग जोडिएको यस विषयलाई बेवास्ता गरिनु हुँदैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend