जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै त्यसबाट आफूलाई सभापति घोषणा गरिएको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।
सोमबार दाङको भालुबाङमा आयोजित आफू पक्षको नियमित १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले बिना सनाखत विशेष महाधिवेशन बोलाइएको भन्दै विरोध गरेका हुन्।
उनले साधारण परिषद्ले माग गरेपछि मात्रै विशेष महाधिवेशन बोलाउनुपर्ने र त्यसका लागि आवश्यक सनाखत तथा प्रमाणीकरण हुनुपर्ने बताए। आफू पार्टी सभापति रहेका बेला कार्यवाहक सभापतिको जिम्मेवारीमा पूर्णबहादुर खड्का रहेको उल्लेख गर्दै देउवाले विशेष महाधिवेशनको प्रक्रिया नै प्रश्नयोग्य रहेको दाबी गरे।
देउवाले विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टी सभापति निर्वाचनबाट चयन हुनुपर्ने धारणा राखे। साथै, उनले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गगन थापाले मनपरी टिकट वितरण गरेको आरोप लगाए।
थापाले आफैँ चुनाव लडेर पराजित भएको र अन्य नेताहरूलाई पनि हराएको आरोप लगाउँदै देउवाले समानुपातिकतर्फ पनि मुस्किलले केही सिट प्राप्त भएको बताए।
उनले कुनै समय देशकै सबैभन्दा ठूलो पार्टी रहेको नेपाली कांग्रेसलाई कमजोर अवस्थामा पुर्याइएको टिप्पणी गर्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत गरे।
आफूले देशबाट पाउनुपर्ने सबै कुरा पाइसकेको उल्लेख गर्दै पाँच पटक प्रधानमन्त्री भइसकेको र अब बाँकी जीवन लोकतन्त्रको विकास तथा सुदृढीकरणमा समर्पित गर्ने देउवाको भनाइ थियो।
सम्बोधनका क्रममा उनले जेनजी आन्दोलनका बेला आफू र श्रीमती आरजु राणामाथि भएको आक्रमणको प्रसंगसमेत उठाए। जेनजीहरूले आफूलाई बचाएको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएको र ४० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरेको दाबी गरे।
आफ्नो निवासमा भएको आक्रमणका क्रममा आफू र श्रीमतीमाथि लाठी तथा ढुंगा प्रहार भएको र सुरक्षा निकायको सहयोगमा ज्यान जोगिएको उनले बताए। सेनाले हेलिकप्टर पठाए पनि अवतरण गर्न नदिइएको उनको भनाइ थियो। त्यसपछि सेनाको गाडीमार्फत आफूहरू सेनाको क्याम्प पुगेको र उपचारका लागि विदेश जानुपरेको उनले स्मरण गरे।
देउवाले पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा आफूलाई शाही आयोगमार्फत जेल पठाइएको प्रसंग पनि सुनाए। त्यसबेला सर्वोच्च अदालतले शाही आयोग खारेज गरेर आफूलाई न्याय दिएको स्मरण गर्दै अहिले पनि न्यायपालिकामाथि विश्वास रहेको बताए।
कार्यक्रममा देउवा पक्षका महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकढिक्का बनाउन आफू निरन्तर लागिरहने बताए।
आफ्ना पिता बीपी कोइरालाले नेपालको इतिहास निर्माण गरेजस्तै अब सबै मिलेर कांग्रेसको इतिहास निर्माण गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेसलाई कमजोर बनाउने शक्ति बाहिर नभई पार्टीभित्रकै विभाजन हुन सक्ने उल्लेख गर्दै उनले एकता आवश्यक रहेको बताए।
कोइरालाले नेपाली कांग्रेसको इतिहास, आदर्श र योगदानलाई स्मरण गर्दै पार्टी एकजुट भए कसैले पराजित गर्न नसक्ने दाबी गरे। कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पनि सम्बोधन गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend