जन आकाश
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को कार्यालयको भूमिकामाथि प्रश्न उठाएका छन्।
उनले कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिँदै ठेक्का रद्द गराइएको आरोप लगाएका छन्। ठेक्का रद्द गर्ने प्रक्रियामा संलग्न प्रधानमन्त्रीको टिममाथि स्वतन्त्र र निष्पक्ष छानबिन गर्न पनि उनले माग गरेका छन्।
आङदेम्बेका अनुसार आयोजनाको ठेक्काका लागि ६ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए। तीमध्ये तीन कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए। तर, आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा लगेर दबाब दिई ठेक्का रद्द गरिएको उनको दाबी छ।
उनले सामाजिक सञ्जालमार्फत आयोजना मधेसका पाँच जिल्लाका करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउने तथा २८ मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गरेका छन्। १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको अवस्थामा आयोजना राजनीतिक र प्रशासनिक हस्तक्षेपको सिकार बन्नु दुःखद भएको उनको भनाइ छ।
आङदेम्बेले ठेक्का रद्द गर्ने अधिकार सरकारसँग भए पनि कानुनविपरीत निर्णय गर्ने अधिकार नरहेको बताएका छन्। साथै, मधेसको विकासलाई राजनीतिक प्रतिशोधको विषय नबनाउन सरकारलाई आग्रह गरेका छन्।
उनले प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे छानबिन गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend