जन आकाश
काठमाडौं । चलचित्र क्षेत्रको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्नेमा मन्त्री तिमिल्सिनाले जोड दिएका छन्।
एक छलफल कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रवर्द्धन र आर्थिक विकासमा योगदान पुर्याउने उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका हुन्।
उनले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवस्था कमजोर रहेको उल्लेख गर्दै संस्थागत सुधार र नेतृत्वको क्षमता विकासमा जोड दिए। संस्थाको नेतृत्व गर्ने व्यक्ति सक्षम र योग्य हुनुपर्ने भन्दै अध्यक्षको योग्यता निर्धारण गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई पनि चलचित्र क्षेत्रको विकासमा भूमिका दिने गरी कानुन निर्माण गर्नुपर्ने बताए। तर अधिकार बाँडफाँट गर्दा तीनै तहका सरकारबीच द्वन्द्व सिर्जना नभई एकअर्काका परिपूरक हुने व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरे।
संघको कानुनसँग नबाझिने गरी प्रदेशले आफ्नै कानुन बनाउन पाउनुपर्ने धारणा राख्दै उनले चलचित्र क्षेत्रको विकासमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको योगदान आवश्यक रहेको बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend