logo बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026
logo

बिहिबार, मंसिर १० २०८३ | Thursday 26th November 2026

स्वास्थ्य बीमा लिएपछि आवश्यक पर्दा सहज उपचार पाउने व्यवस्था गर्नुपर्छ : मन्त्री गौतम


  • जन आकाश
  • बुधबार, मंसिर ९ २०८३

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमा गरेका नागरिकले आवश्यक परेको समयमा सहज र भरपर्दो उपचार पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताएकी छन्।



मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित स्वास्थ्य बीमासम्बन्धी छलफलमा बोल्दै मन्त्री गौतमले स्वास्थ्य बीमाप्रति नागरिकको विश्वास बढाउन विद्यमान समस्या र गुनासो सम्बोधन गर्नुपर्ने बताएकी हुन्।

उनले घरमा कोही बिरामी पर्दा उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता परिवारले लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन्। स्वास्थ्य बीमा गरेका नागरिकले आवश्यक परेको बेला उपचार पाउनेमा ढुक्क हुन सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

मन्त्री गौतमले स्वास्थ्य बीमामा योगदान गर्न नसक्ने नागरिकको जिम्मेवारी राज्यले लिनुपर्ने धारणा राख्दै अस्पतालमा पुग्दा बीमाको सुविधा सहजै प्राप्त हुने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन्।

छलफलका क्रममा सरकारी अस्पतालबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सम्भव छ वा निजी अस्पताललाई समेत सहभागी गराउनुपर्ने भन्ने विषयमा पनि छलफल भएको थियो।

त्यस्तै, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल गरिएको छ।

तीनवटै निकायलाई एउटै प्रणालीमा जोड्न विद्यमान ऐन संशोधन गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुई विकल्पबारे छलफल भएको हो।

बैठकमा सम्बन्धित मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। स्वास्थ्य बीमाको वित्तीय व्यवस्थापन सुधार गर्दै नागरिकलाई आवश्यक परेको समयमा सहज उपचार सेवा उपलब्ध गराउनु छलफलको मुख्य उद्देश्य रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend