जन आकाश
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाइएको हो।
हाल कार्कीका पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्। उनीहरूको बहस सकिएपछि महान्यायाधिवक्ता कार्यालय र नवनियुक्त आईजीपी मनोज केसीका तर्फबाट बहस हुनेछ।
दुवै पक्षको बहसपछि कार्कीले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निर्णय हुनेछ।
यसअघि सोमबारका लागि पेसी तोकिए पनि आईजीपी मनोज केसीले म्याद नबुझेका कारण सुनुवाइ अघि बढ्न सकेको थिएन।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि उनी सर्वोच्च अदालत पुगेका हुन्।
आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको दाबी गर्दै कार्कीले मनोज केसीलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय बदर गरी आफूलाई पुनर्बहाली गर्न माग गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend